बाराका ५ वर्षीय बालकको मृत्युपछि कोरोना पुष्टि
बाराको निजगढका ५ वर्षीय बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
वीरगन्जस्थित सिटिजन हेल्थ केयरमा उपचारपछि मृत्यु भएका बालकमा स्वाब परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको नारायणी अस्थायी अस्पतालका संयोजक डा. उदयनारायण सिंहले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार बालकको हिजो राति भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्युपश्चात कोरोनाको आशंकामा उनको स्वाब परीक्षण गरिएको थियो।
डा. सिंहले बालकलाई निमोनियाको समस्या देखिएपछि परिवारले सुरूमा निजगढस्थित सामुदायिक अस्पताल लगेका थिए। पछि अवस्था जटिल भएपछि अस्पतालले वीरगन्ज रिफर गरिदिएको थियो। हिजै अस्पतालमा भर्ना भएका उनलाई पछि स्वासप्रस्वासमा पनि समस्या देखिएपछि भेन्टिलेटरमा सारिएको थियो। तर सोही क्रममा बालकको मृत्यु भएको हो। मृत्युपछि कोरोना देखिएपछि बालकको शवलाई प्रहरीले दाहसंस्कार गर्ने तयारी गरेको छ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ। हिजै वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका २५ वर्षीय युवकमा पनि कोरोना पोजेटिभ देखिएको थियो। पछिल्लो दुई मृत्यु संख्याबारे स्वास्थ्य मन्त्रालयलको औपचारिक जानकारी गराउन बाँकी छ।