दिल्लीमा जुलाई अन्तिमसम्म कोरोना संक्रमित ५ लाख नाघ्ने अनुमान
भारतको राजधानी नयाँदिल्लीमा जुलाई अन्तिमसम्म कोरोनाभाइरसका संक्रमित ५ लाख नाघ्ने अनुमान गरिएको छ। मंगलबार दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले जुलाई अन्तिमसम्म संक्रमितको संख्या ५ लाख भन्दा बढी हुने बताएका छन्। त्यसका लागि ८० हजार बेड चाहिने उनको भनाइ छ।
'जुन १५ सम्म ४४ हजार कोरोनाभाइरस संक्रमित हुन्छन् र ६ हजार ६ सय बेडहरूको आवश्यकता हुन्छ। जुन ३० सम्म एक लाख पुग्छन् र १५ हजार बेडहरूको आवश्यकता हुन्छ,' उनले भने,'जुलाई १५ सम्म संक्रमितको संख्या दुई लाख ५० हजार नाघ्छ भने ३३ हजार बेडको आवश्यकता हुन्छ। ३१ जुलाईसम्म पाँच लाख ५० हजार संक्रमित पुग्छन् र ८० हजार बेड चाहिन्छन्।'
मंगलबार दिल्लीमा प्रकोप व्यवस्थापन प्राधिकरण, दिल्लीका स्वास्थ्यमन्त्री सत्यन्दर जैन तथा केन्द्रीय सरकारका पदाधिकारीहरूबीच समुदाय स्तरको संक्रमण छ कि छैन भन्ने विषयमा छलफल भएको थियो। आउने १२-१३ दिनसम्म दैनिक संक्रमण दोब्बर हुँदै गए अस्पतालमा बेडको संख्या नपुग्ने र त्यसको असर दिल्लीका स्थानीयले भोग्नु पर्ने सिसोडियाको भनाइ छ।
दिल्लीका स्वास्थ्यमन्त्री जैनका अनुसार राजधानीमा ५० प्रतिशत संक्रमितको स्रोत खुल्न सकेको छैन। दिल्लीमा बुधबारसम्म संक्रमितको संख्या ३० हजार नाघिसकेको छ।
एक अर्ब ३० करोड बढी जनसंख्या भएको भारतमा पछिल्लो समय दैनिक झन्डै १० हजारका दरले कोरोना संक्रमित थपिइरहेका छन्। बुधबारसम्म २ लाख ७७ हजार बढी भारतीयमा कोरोनाको संक्रमण देखिएको छ। अहिले झन्डै दुई सातामा संक्रमित दोब्बर भइरहेका छन्।
भारतले कोरोनभाइरसको संक्रमण फैलिन नदिन मार्च २५ देखि देशव्यापी लकडाउन गरेको थियो। लकडाउनका बाबजुद् २ महिनासम्म कोरोनाको संक्रमण नियन्त्रण नभएपछि पछिल्लो समय उसले लकडाउन खोल्दै लगेको छ।
लकडाउन खुलेसँगै संक्रमण पनि तीव्र गति बढेको छ। पहिला राजधानी दिल्ली र मुम्बईजस्ता शहरहरूमा देखिएको संक्रमण अब ग्रामीण क्षेत्रहरूमा पनि देखिन थालेको छ।