ललितपुरकी काेराेना संक्रमित बालिका भक्तपुरमा बस्दै आएको भेटियाे
(भक्तपुर) भक्तपुरको कटुन्जेमा बस्ने १४ वर्षीय बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित बालिकाको स्थायी ठेगाना ललितपुर प्युटार वडा नं.४ घर भए पनि हाल भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. ५ मा डेरा गरी परिवारसँगै बस्दै आएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिएको छ ।
बालिकालाई पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गराउने क्रममा आईतवार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे । आईतवार स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा ललितपुरको भनेर बताएकाे थियाे । स्थायी घर ललितपुर भएका संक्रमित खोज्दै जाने क्रममा ललितपुरमा नभेटिएपछि खोजी गर्दौ जाँदा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे डेरा गरी बस्ने खुल्न आएको प्रमुख मिजारले बताउनुभयो ।
बालिकालाई थप उपचारका लागि आईतबारै राति महाराजगञ्जस्थित शिक्षण अस्पाताल पठाएको छ भने उनी डेरामा बस्ने घरलाई शिल गरिएको छ । साथै बालिकाका अभिभावकलाई पनि शिक्षण अस्पतालको क्वारेन्टाइनमा राखिएको प्रमुख मिजारले बताउनुभयो ।
संक्रमित बालिकालाई अस्पताल लैजाने क्रममा ४ जना प्रहरी बालिकासँग नजिकिएको कारण उनीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । उनीहरुमा २ जना कोरिया मैत्री नगरपालिका अस्पताल थिमिको क्वारेन्टाइनमा र २ जनालाई होम क्वारेन्टाइनमा राखिएको महानगरिय प्रहरी वृत्त थिमिले जानाएको छ ।