भेनिसमा पर्यटकको लाइन लाग्न थाल्यो , फ्रान्सले अर्को सातादेखि सबै स्कुल खोल्ने
लकडाउन खुलेसँगै इटालीको भेनिसमा पर्यटकको ओइरो लाग्न थालेको छ। कोरोनाभाइरसको महामारीले गर्दा गरिएको लकडाउनले तीन महिनासम्म भेनिसको दरबार स्क्वायर, त्यहाँका गल्ली र डुङ्गाहरू खाली भएका थिए।
गत शनिबारदेखि भेनिसका दरबारहरू पुन:सञ्चालनमा आएपछि पर्यटकको लाइन लागेको हो। सेन्ट मार्कस स्क्वायरस्थित डुकल प्यालेसअगाडि सयौं इटालियन नागरिक तथा पर्यटकहरूको तीन सय मिटर लामो लाइन लागेको थियो।
समाचार संस्था एएफपीका अनुसार दरबार खुलेको पहिलो दिन अनलाइनमार्फत् हजारौंले बुकिङ गरेका थिए।
'मानिसहरू बिहान आठ बजेदेखि लाइन बस्न आएका थिए। साँच्चै भन्नुपर्दा हामीले आशा गरेको पनि यही हो,' भेनिस नागरिक संग्राहलय फाउन्डेसनकी मारिया क्रिस्टिना ग्रिबाउदीले भनिन्,'यो पहिलो दिन विद्यालय गएजस्तै मजबुद् भावना हो। स्वास्थ्य सुरक्षा सावधानी अपनाएर दरबारहरू खोलिएको हो।
दरबारभित्र जान मास्क अनिवार्य गरिएको छ, सामाजिक दूरी कायम गर्न चिन्हहरू राखिएका छन् भने कोठामा भीडभाड हुन नदिइने बताइएको छ। त्यस्तै दरबार वरिपरिका रेष्टुरेन्ट, पसल तथा ऐतिहासिक क्याफे फ्लोरियनसमेत खुलेको छ। दक्षिण युरोपेली मुलुक इटालीमा कोरोनाभाइरसको संक्रमणबाट ३४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। त्यस्तै दुई लाख ३६ हजार बढी संक्रमित भएका छन्।
नयाँ संक्रमितको संख्या कम हुँदै गएपछि गत महिनादेखि इटालीले लकडाउन खुकुलो बनाउँदै गएको थियो। त्यहाँका स्मारक, चर्चित भवन, संग्राहलय तथा दरबारहरू खुलिसकेका छन्। जुन ३ देखि इटालीले आफ्नो सीमासमेत खोलेको छ।
यता फ्रान्सले पनि लकडाउन खुकुलो बनाउँदै लगेको छ। जुन २ देखि नै फ्रान्सका रेष्टुरेन्ट, क्याफे र बारहरू खुलेका थिए। तर सेवाग्राहीलाई भित्र प्रवेश गर्न नदिइ बाहिरै टेबुलहरू राखेर खान दिइएको थियो। आइतबार त्यहाँका राष्ट्रपति इम्यानुयल म्याक्रोंले देशवासीको नाममा सम्बोन गर्दै सोमबारदेखि सम्पूर्ण राष्ट्रलाई ग्रिन जोन बनाउने बताएका थिए।
त्यस्तै जुन २२ देखि अनिवार्य रूपमा विद्यालय सञ्चालनमा ल्याउनेसमेत उनको उनले घोषणा गरेका छन्। 'सोमबारदेखि फ्रान्सका नर्सरी, विद्यालयहरूले विद्यार्थीको स्वागत गर्न तयारी थाल्छन्,' उनले भने,'जुन २२ देखि हाजिरी अनिवार्य हुनेछ।'
फ्रान्समा पनि कोरोनाभाइरसको संक्रमणबाट २९ हजार जनाले ज्यान गुमाएका छन् भने एक लाख ५७ हजार बढी संक्रमित भएका छन्। तर पछिल्लो केही समयदेखि फ्रान्समा त्यहाँ संक्रमित देखिएका छैनन्।