नेकपा स्थायी कमिटी बैठक : आज ओली-प्रचण्डको सम्बोधन, १२ गते फेरि बस्ने
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १२ गतेसम्मका लागि स्थगित भएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा बोलेका थिए।
‘पर्सि ११ बजे पुन: बस्ने गरी बैठक स्थगित भएको छ,’ उनले पत्रकारहरूसँग भने। आजको बैठकले बैठकका एजेन्डा पारित गरेको छ। स्थायी समिति सदस्य गणेश शाहका अनुसार अबको बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता प्रक्रिया अमेरिकी सहायता परियोजना (एमसिसी) र अन्य विषयमा विविध विषयमा छलफल हुने छ।
बैठकले पारित गरेका एजेन्डाहरूमा वर्तमान परिस्थिति र स्थायी कमिटीकाे बैठकका सम्बन्धमा अध्यक्षद्वयकाे सम्बोधन, काेभिड-१९ काे नियन्त्रण, राेकथाम र उपचार, नेपालकाे सीमा समस्या र समाधान, सरकारकाे कामकाे समग्र समीक्षा, पार्टी कामकाे समीक्षा र सांगठानिक एकथाकाे बाँकी कामहरू, एममसीसी र विविध विषय छन्। बैठकमा रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदहरूको भत्ताका विषयमा पनि छलफल हुने भएको छ।
आजको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारका कामका बारेमा चर्चा गरेका थिए। ‘उहाँले सरकारले राम्रो काम गरिरहेको छ भन्नुभयो र ती कामको विस्तृतमा व्याख्या गर्नुभयो,’ शाहले भने।
सम्बोधनका क्रममा अर्का अध्यक्ष प्रचण्डले भने अहिले सरकारका काम प्रभावकारी नभएको र अझै प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याएका थिए।