फोक्सोको क्यान्सर पीडित ७४ वर्षीय वृद्ध एक महिनापछि कोरोनामुक्त
चितवनका ७४ वर्षीय फोक्सोका क्यान्सर पीडित एक वृद्ध कोरोनाबाट निको भएका छन्।
भरतपुर अस्पतालमा उपचाररत उनी श्रीमतीसहित शुक्रबार डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. प्रमोद पौडेलले जानकारी दिए। झन्डै एक महिनाअघि ती वृद्ध र उनकी श्रीमतीमा संक्रमण पुष्टि भएको थियो। उनी परिवारसहित भारतमा क्यान्सरको उपचार गराएर फर्किएका थिए। घर फर्किएर कोरोना परीक्षण गर्दा श्रीमतीसहित वृद्धमा संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएलगत्तै उनीहरूलाई भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। पछि उनीहरूसँगै भारतबाट आएका छोरामा पनि संक्रमण पुष्टि भयो। छोरा भने यसअघि नै डिस्चार्ज भएर घर गएका थिए। डा. पौडेलका अनुसार उपचारकाे बीचमा वृद्धमा खोकीको समस्या देखिएको र श्रीमतीमा तीन दिन पखाला लागेको थियो।
'हामीले उहाँहरूलाई त्यही अनुसारको औषधि दिएपछि ठिक भयो,' उनले भने। उनले क्यान्सरका रोगी समेत यसरी कोरोनालाई जितेर घर फर्किनु ठूलो उपलब्धि रहेको बताए। सुरुदेखि नै क्यान्सरका रोगी भएकाले वृद्धलाई विशेष निगरानीमा उपचार गरिएको पौडेलले बताए।
'हामीले उहाँलाई अन्य इन्फेक्सन नहोस् भनेर एन्टिबायोटिक, सिटामोल र एलर्जीको औषधि चलायौं,' उनले भने। अहिले दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।