आज जोर नम्बरका गाडी चलाउन पाइने, विजोर चलाउने २६९ कारबाहीमा
(काठमाडौं) सरकारले लकडाउनलाई खुकुलो बनाउँदै निजी सवारीसाधनलाई जोड विजोर प्रणालीमा चलाउन दिने निर्णय गरेको छ । जसअनुसार शुक्रबार जोड नम्बरका गाडीलाई चलाउन दिइएको छ ।
तर, विजोर नम्बरका सवारी पनि सडकमा उत्तिकै देखिएका छन् । यसरी विजोर नम्बरका सवारीसाधन चलाउने २६९ जना कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालले बताए । प्रहरीका अनुसार पहिलो दिन भएकाले कतिपय सर्वसाधारण थाहा नपाएर पनि विजोर नम्बरका गाडी लिएर निस्किएका छन् । उनीहरुको सवारीसाधनलाई ट्राफिक प्रहरीले होल्ड गराएको छ ।
बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो भने सरकारका प्रवक्ता डा. युवराज खतिवाडले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर जोड विजोडको नीति लागु गरिएको बताएका थिए ।
त्यसअनुसार ट्राफिकले जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नुपर्ने गरी नियम बनाएको छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन । उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिएको छ ।