प्रधानमन्त्री ओली र प्रचण्डबीच जिम्मेवारी बाँडफाँटमा समझदारीपछि 'युद्धविराम'
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच कसरी अकस्मात सहमति बन्यो भन्ने रहस्य विस्तारै खुल्दै गएको छ।
बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको तिखो आलोचना गरेका र राजीनामा मागेका पार्टी अध्यक्ष प्रचण्ड शनिबार बैठकमा एक सय असी डिग्री उल्टिएर प्रधानमन्त्रीसँग मिलेर अगाडि जान सहमत भएपछि अड्कलबाजी जारी छन्। पार्टी नेता माधव नेपाल पक्षसँग मिलेर प्रधानमन्त्रीको राजीनामा मागिरहेका प्रचण्डले नेता नेपाललाई पनि थाहा नदिकन ओलीसँग 'सुलह' गरेका हुन्।
प्रधानमन्त्री ओली र प्रचण्ड मिलेर एकजनाले सरकार र अर्कोले पार्टी कामको नेतृत्व गर्ने पुन: सहमति भएको बालुवाटार स्रोतले बतायो। प्रचण्डनिकट नेताले पनि त्यसको पुष्टि गरे। साथै मुख्य 'राजकीय काम'मा दुवैले सल्लाह र परामर्श गरेर काम गर्ने सहमति भएको दुवै स्रोतले उल्लेख गरे।
यसअघि गत मंसिर ४ गते पनि दुई अध्यक्षबीच अर्को संसदीय चुनाव नहुन्जेल प्रधानमन्त्री ओलीले नै सरकारको नेतृत्व गर्ने र कार्यकारी अध्यक्षका रूपमा प्रचण्डले पार्टी कामको नेतृत्व गर्ने लिखित सहमति भएको थियो। सो सहमतिको भाषा गाँजे-माजे थियो। पार्टीमा दुवै जना अध्यक्ष रहने, प्रधानमन्त्री ओलीको वरीयता पहिलो रहने उल्लेख थियो।
'पार्टीको बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने, आमरूपमा पार्टी अध्यक्षता र सञ्चालन कमरेड प्रचण्डले गर्ने' भनेर लेखिएको थियो।