धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु, कारण खोजी हुँदै
काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि लगिएकी एक सुत्केरीको मृत्यु भएको छ।
सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया सुत्केरीलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो। उनको शुक्रबार निधन भएको हो।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सुत्केरीको मृत्यु भए पनि के कारणले भन्ने नखुलेको बताए।
‘सिन्धुपाल्चोक घर भएकी एक सुत्केरीको मृत्यु भएको हो। के कारणले मृत्यु भयो प्रशासनलाई जानकारी छैन। सायद अस्पतालले आज साँझसम्म केही जानकारी दिन्छ होला,’ प्रजिअ तिमिल्सिनाले सेतोपाटीसँग भने
अस्पतालका प्रवक्ता सुमनराज ताम्राकारले श्वासप्रश्वासमा समस्या भएपछि सुत्केरीलाई अस्पताल ल्याइएको बताए। ‘श्वासप्रश्वासको समस्या भएपछि उहाँलाई अस्पताल ल्याइएको थियो। अस्पतालको गेटबाटै इमर्जेन्सीमा लग्दै गर्दा उहाँको मृत्यु भएको हो,’ ताम्राकारले सेतोपाटीसँग भने। सुत्केरीको शव अस्पतालमा छ। श्वासप्रश्वासको समस्या देखिएकोले कोरोनाभाइरसको आशंकामा पिसिआर परीक्षण गर्न टेकु पठाइएको उनले जानकारी दिए।
महिलाको नौ दिन अघि काठमाडौंको शिक्षण अस्पतालमा प्रसुती गराइएको थियो। त्यसपछि उनी सिन्धुपाल्चोकस्थित घर फर्केकी थिइन्। ‘सुत्केरीको मृत्यु के कारणले भयो भन्ने रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ,’ उनले भने।