टिचिङमा बिरामी भेट्न आएका व्यक्तिमा कोरोना भेटियो
त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा बिरामी भेट्न आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको टिचिङ अस्पतालले पुष्टि गरेको छ।
यसअघि टिचिङ अस्पतालको न्यूरो वार्डमा भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि न्यूरो वार्डमा उपचारमा संलग्न डाक्टर/नर्स र बिरामी भेट्न आएकाको स्वाब परीक्षण गरिएको थियो र परीक्षण गर्दा उनमा संक्रमण पोजेटिभ देखिएको हो।
‘उहाँलाई अहिले आइसोलेसनमा राखिएको छ’, अस्पताल स्रोतले भन्यो,‘यहीँ आएर संक्रमण भयो कि अन्य कतैबाट संक्रमण फैलियो कन्ट्याक्ट ट्रेसिङ सुरू गर्दैछौं।’
यसअघि शुक्रबार कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी रहेको समाचार सार्वजनिक भएको थियो। तुलसीपुरका कोरोना सम्पर्क व्यक्ति विमल केसीले ती व्यक्ति टिचिङ अस्पतालमा कार्यरत रहेको बताएका थिए। तर अस्पतालका कर्मचारी नभएर बिरामी भेट्न आउने व्यक्तिमा कोरोना संक्रमण भेटिएको स्रोतले बतायो।
दाङका ४६ वर्षीय ती व्यक्ति न्यूरो वार्डमा सर्जरी गरेको बिरामीलाई भेट्न आएका थिए।