प्रदेश १ मा ४० हजारको कोरोना परीक्षण गर्ने तयारी
(विराटनगर) प्रदेश सरकारले १४ जिल्लामा ४० हजारको कोरोना जाँच गर्ने तयारी गरेको छ । दैनिक एक हजारका दरले ४० हजार बढीको पीसीआर परीक्षण जाँच गर्ने तयारी गरेको हो ।
शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले भारतबाट नेपाल फर्कनेबाट हुनसक्ने सम्भावित जोखिम नियन्त्रणका लागि परीक्षण दायरा बढाउने निर्णय गरेको छ ।
प्रदेश १ मा दैनिक एक हजार जनाको कोरोना जाँच गर्ने तयारी भएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए । स्वीकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरुको बर्गीकरणसमेत गरेको छ ।
प्रदेश सरकारले उच्च जोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा बर्गीकरण गरिएको छ । सीमावर्ती जिल्लालाई उच्च जोखिममा राखेको छ । उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको मुख्यमन्त्री राईले बताए ।
प्रदेश १ मा चार हजार एक सय बढीको पिीसीआर विधिबाट परीक्षण भइसकेको छ ।