चीनमा आइतबार मार्च ५ पछि सबैभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिए
चीनमा पछिल्लो ६ सातामा हिजो (आइतबार) सबैभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।
समाचार संस्था रोयटर्सका अनुसार रूससँग सीमा जोडिएको उत्तरपूर्वी चिनियाँ प्रान्त हेइलोङजियाङमा धेरै संक्रमित भेटिएका हुन्।
आइतबार चीनभरि भेटिएका १०८ नयाँ संक्रमितमध्ये ९८ जना विदेशबाट आएकाहरू छन्। त्यसमा पनि ४९ जना रूसबाट हेइलोङजियाङ प्रान्त आएका चिनियाँहरू हुन्। रूसमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। सोमबारसम्म रूसमा १५ हजार ७ सय ७० मानिसमा संक्रमण देखिएको छ भने १३० जनाको मृत्यु भएको छ।
रूसबाट आउनेहरूमा कोरोना भाइरस देखिन थालेपछि चीनले आफ्नो सीमामा थप कडाइ गरेको छ।
पछिल्लो समय मार्च ५ मा चीनमा एकै दिनमा १४३ जना संक्रमित भेटिएका थिए। त्यसपछि एकै दिन नयाँ बिरामी सबैभन्दा धेरै थपिएको आइतबार नै हो। चीनले देशभित्रको संक्रमणलाई नियन्त्रणमा ल्याए पनि पछिल्लो समय विदेशबाट आउनेहरूमा कोरोनाको संक्रमण देखिन थालेपछि अधिकारीहरूमा संक्रमणको दोस्रो लहर आउने हो कि भन्ने चिन्ता छ।
विदेशबाट आउनेसँगै चीनमा पछिल्लो समय लक्षण नभएका संक्रमित पनि बढ्न थालेका छन्।