एकैदिन तीन जना कोरोना संक्रमित थपिए, तीन जना निको भएर घर फर्किए
बिहीबार एकैदिन तीन जना कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन्।
निको हुनेमा बेलायतबाट आएका पेप्सीकोला अपार्टमेन्टमा बस्ने ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुष छन्। उनीहरू आमा छोरा हुन्।
गत वैशाख २ गते पाटन अस्पताल भर्ना भएका उनीहरूलाई बिहीबार दिउँसो अस्पतालले डिस्चार्ज गरेको हो। यस्तै आजै धनगढी लम्कीचुहाकी ६५ वर्षीय महिला पनि कोरोनाबाट निको भएकी छिन्। वीरगन्जबाट कैलाली पुगेकी उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई पनि आजै धनगढीस्थित सेती प्रादेशिक अस्पतालले डिस्जार्च गरेको हो। योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या १० पुगेको छ।
गत चैत ४ गते बेल्जियमबाट आएकी बाग्लुङकी १९ वर्षीय युवतीको पनि पाँचौ परीक्षणको नतिजा नेगेटिभ आएको छ।
अब भोलि गरिने अर्को परीक्षणको नतिजा पनि नेगेटिभ आए युवती पनि डिस्चार्ज हुनेछिन्। उनीसँगै बेल्जियमबाट आएकी कोरोना संक्रमित महिला यसअघि नै निको भएर घरमा छिन्। बिहीबार कोरोनाबाट तीन जना निको हुँदा तीन नयाँ संक्रमित थपिएका छन्। उदयपुरको भुल्केकी ५५ वर्षीय महिला, सर्लाहीका १४ वर्षीय किशोर र भाेजपुरका २६ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ। जसमा १० जना निको भएका हुन्। बाँकीको भने विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।