सनसिटी अपार्टमेन्टका २ जनालाई कोरोना संक्रमण पुष्टि
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा तीन जनाको रगतमा कोरोनाविरूद्ध लड्ने एन्टिबडी भेटिएपछि सोमबार उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
हिजै थप परीक्षण गर्न उनीहरूको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। त्यहाँ पिसिआर मेसिनमा गरिएको परीक्षणमा दुई जनाको नतिजा पोजेटिभ देखिएको पाटन अस्पताल र प्रधानमन्त्रीनिवास बालुवाटार स्रोतले सेतोपाटीलाई जानकारी दिएका छन्।
अस्पतालमा भर्ना भएका ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोनाको संक्रमण पुष्टि भएको हो भने बुहारीको रिपोर्ट आउन बाँकी छ।
अर्थमन्त्री खतिवडा सनसिटी जानुभएको थिएन: प्रेस संयोजक पौडेल
अर्थमन्त्री युवराज खतिवडा केहीदिनअघि सनसिटी अपार्टमेन्ट गएको र संक्रमितसँग त्यतिखेर भेट भएको भन्ने खबर साँचो नभएको खतिवडाका प्रेस संयोजक यमन पौडेलले बताएका छन्।
खतिवडाका छोरा सनसिटी अपार्टमेन्टमा बस्ने र केही समयअघि त्यहाँका बासिन्दाहरू आन्तरिक समितिको चुनावमा उनी सचिवमा निर्वाचित भएका थिए। निर्वाचितहरूलाई बधाई दिने कार्यक्रममा अर्थमन्त्री खतिवडा पनि गएको र त्यहाँ संक्रमितहरूसँग पनि उनको भेट भएको कतिपय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।
‘अर्थमन्त्रीको छोरा सनसिटीमा बस्नुहुन्छ, तर योबीचमा उहाँ सनसिटी गएको भन्ने कुरा झूटो हो,’ उनले भने,‘उहाँ एकदमै अनुशासनमा बस्ने व्यक्ति हो। अफिस र घरबाहेक अर्थमन्त्री कहीँ जानु भएको छैन। बाहिरका मानिससँगको भेट अत्यन्तै सीमित छ।’
चैत पहिलो साता लन्डनबाट आएका कोरोना संक्रमितहरूले अर्थमन्त्री खतिवडालाई कहिले र कहाँ भेटेका हुन् भन्ने खुलेको छैन।
तीन जना कोरोनाको आशंका देखिएपछि झन्डै पाँच सय परिवार बस्ने पेप्सीकोलाको सनसिटी अपार्टमेन्टलाई सोमबारदेखि सिल गरिएको छ। उक्त अपार्टमेन्टमा बस्ने सबै जनाको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ।