वैशाख अन्तिम साता बजेट अधिवेशन, जेठ पहिलो साता नीति तथा कार्यक्रम
(काठमाडौं) संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुबै सदनको बैठक सञ्चालन गर्ने तयारी छ ।
बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच पनि संसदको वर्षे अधिवेशन बोलाउनेबारे छलफल भएको छ । भेटमा सभामुख सापकोटाले जतिसक्दो छिटो अधिवेशन बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको जनाइएको छ । सामाजिक दुरी कायम गरेर संसद बैठक चलाउने विषयमा स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका छन् । उनले बुधबार नै संसद भवन नयाँ वानेश्वर पुगेर बैठक कक्षको अवलोकन गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ । सरकारले संसद अधिवेशन कहिलेका लागि बोलाउने भन्ने घोषणा नगरे पनि वैशाख २१ गतेसम्म संसद भवनमा गर्नुपर्ने तयारी सक्न संसद सचिवालयलाई आग्रह गरेको छ । वर्षे अधिवेशनमा सामाजिक दूरी कायम गरेर बैठक राख्न संसद सचिवालयले तयारी तीव्र पारेको छ । सचिवालयका अनुसार अब रङ रोगनको काम मात्रै बाँकी छ ।
सचिवालयका अनुसार एउटा पंक्तिमा प्रधानमन्त्रीमात्रै बस्नेछन् । प्रधानमन्त्री बस्ने कुर्सी भन्दा पछाडिको पंक्ति खाली राखिने छ । सभामुख रहने ड्यासमा सामाजिक दुरी कायम हुने गरी स्पेस बढाइएको छ । सांसदहरुलाई वीचमा एउटा कुर्सी छाडेर फराकिलो दुरीमा राखिनेछ ।
‘सरकारका तर्फबाट मैले संसद सचिवालयलाई २१ गतेसम्म सबै तयारी पूरा गर्न भनेको छु । त्यसपछि अधिवेशन बोलाउनेबारे थप छलफल हुन्छ’ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले अनलाइनखबरसँग भनिन् ।
जेठ पहिलो साता नीति तथा कार्यक्रम
नेपालमा जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । बजेट पेश हुनुभन्दा १५ दिन अगाडि आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीको नियम १४२ मा छ । अर्थात, जेठ पहिलो साता नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने हुन्छ ।
बजेट पेश गर्नुअघि पूर्वबजेट छलफल गर्नुपर्ने हुन्छ । पूर्वबजेट छलफलमा सांसदहरुले दिएका सुझावलाई समेटेर सरकारले नीति तथा कार्यक्रम ल्याउँछ ।
अधिवेशनको पहिलो दिन अधिवेशन आहृवानसम्बन्धी राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाई बैठक अन्त्य गर्ने अभ्यास छ । यसरी हेर्दा, सरकारलाई अधिवेशन छिटो बोलाउनुपर्ने दवाव छ । अर्कोतर्फ अधिवेशन सुरु हुनु भन्दा कम्तीमा एक हप्ता अगाडि बैठक आहृवान गर्ने अभ्यास छ ।
जिल्लामा रहेका सांसदलाई राजधानी फर्किने समय र सचिवालयले गर्नुपर्ने तयारीका लागि कम्तीमा एक हप्ता समय राखेर अधिवेशन आहृवान गर्नुपर्ने संसद सचिवालयका कर्मचारी बताउँछन् ।