कोरोनाको आशंकामा काठमाडौं सनसिटी अपार्टमेन्ट सिल्ड
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन सदस्यलाई र्यापिड टेस्ट गर्दा कोरोना भाइरसको एन्टिबडी देखिएपछि अहिले उक्त अपार्टमेन्ट सिल गरिएको छ। भित्र बस्ने कसैलाई बाहिर जान दिइएको छैन।
अपार्टमेन्टबाट कसैलाई आवतजावत गर्न नदिएको त्यहीँ बसिरहेकी ज्योति गैरेले सेतोपाटीलाई बताइन्। 'हामीलाई तलमाथि कतै जान दिइएको छैन। सबै आ-आफ्नो कोठामा बसेका छौं,' उनले भनिन्, 'अपार्टमेन्ट बाहिर सुरक्षाकर्मी खटिएका छन्।'
कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार अपार्टमेन्टमा करिब पाँच सय परिवार छन्। तीमध्ये कति जना अहिले बसोबास गरिरहेका छन् भन्ने यकिन छैन।

चैत ५ गते लन्डनबाट फर्किएको एकै परिवारका बुवा, आमा र छोरीमा सोमबार र्यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको थियो। लगत्तै उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।
'उहाँहरूमा कुनै लक्षण छैन। स्वास्थ्य अवस्था पनि ठिक छ,' अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले सेतोपाटीसँग भने।
लन्डनबाट आएपछि उनीहरू ब्लक ए को आफ्नै तलामा क्वारेन्टाइनमा बसेका थिए। सोमबार उनीहरूको र्यापिड टेस्ट गरिएको थियो। यसले शरीरमा कोरोना भाइरसविरुद्ध लड्ने एन्टिबडी छ कि छैन भनेर पत्ता लाग्छ। कहिलेकाहीँ र्यापिड किटले शरीरमा कोरोना भाइरसविरुद्ध लड्ने एन्टिबडी देखाए पनि कोरोना भाइरस नहुन सक्छ। बाग्लुङकी एक महिलाको परीक्षणमा किटले पोजेटिभ देखाए पनि पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएको थियो।
एन्टिबडीले कोरोना भाइरस नष्ट गरिसकेपछि पनि शरीरमा एन्टिबडी कायमै रहन्छ। त्यसैले कहिलेकाहीँ डाइग्नोस्टिक परीक्षणमा एन्टिबडी देखाए पनि कोरोना भाइरस भने नष्ट भइसकेको हुन सक्छ।
शरीरमा एन्टिबडी पनि छ र कोरोना भाइरस पनि नष्ट भइसकेको छैन भने त्यो अवस्थामा पिसिआरबाट पनि जाँच गर्दा पोजेटिभ देखिन सक्छ।