लकडाउनको मोडालिटी बनाउन मुख्यसचिव नेतृत्वको कार्यदल गठन
सरकारले लकडाउनको मोडालिटी बनाउन मुख्यसचिव नेतृत्वको कार्यदल गठन गरेको छ।
शनिबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले लकडाउनको मोडालिटी बनाउने जिम्मेवारी मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई दिएको हो।
‘सबै परिस्थिति हेर्ने अनि देश-विदेशको अनुभव पनि हेर्ने र त्यसको आधारमा के गर्ने भनेर कार्यदलले प्रस्ताव बनाउँछ’,बैठकमा सहभागी एक मन्त्रीले भने,‘उक्त कार्यदलले प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्नेछ।’ उक्त कार्यदलमा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका सुरक्षा प्रमुख छन्।
लकडाउन खुकुलो पार्ने कि नपार्ने भन्नेबारे पनि बैठकमा छलफल भएको थियो। हिमाली क्षेत्रमा खुकुलो बनाउने भन्ने सुझाव पनि आएको तर यी सुझाव आए पनि सम्पूर्ण निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्ने ती मन्त्रीले जानकारी दिए।
‘हिमाली क्षेत्रहरूमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग छलफल गर्ने र ती जिल्लाहरूमा खुकुलो पार्न सकिन्छ कि भन्ने कुरा उठ्यो’,उनले भने,‘त्यसैगरी विभिन्न ठाउँ हेरी संक्रमणको खतरा हेरी र उच्च सतर्कता अपनाएर खुकुलो पार्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भयो।’
यद्यपी तत्काल लकडाउन खुकुलो पार्ने परिस्थिति भने नभएको बैठकमा छलफल भएको ती मन्त्रीले बताए।
यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली लकडाउनको मोडालिटी बनाउन निर्देशन दिएका थिए।