सुदूरपश्चिमका अर्का संक्रमित पनि कोरोना जितेर घर फर्किए
सेती प्रादेशिक अस्पतालबाट धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवक स्वस्थ भएर घर फर्किएका छन्।
दुबईबाट फर्केका ती युवाको चौथो र पाँचौं परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले बताए।
'उहाँका दुवै रिपोर्ट नेगेटिभ आएपछि अस्पतालकै गाडीमा राखेर उहाँलाई घर पठाइएका छौं,' प्रवक्ता जोशीले भने।
चैत १४ गते कोरोना पोजेटिभ देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका उनी २६ दिनपछि घर फर्केका हुन्। यही अस्पतालमा उपचाररत लम्कीचुहाका २१ वर्षीय संक्रमित युवक पनि आइतबार स्वस्थ भएर घर फर्किएका थिए। धनगढीको सेती प्रादेशिक अस्पतालमा अब तीन जना कोरोना संक्रमित उपचाररत छन्।
उनीसँगै अब नेपालमा कोरोना संक्रमित ५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।