अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या छ हजार नाघ्यो
(काठमाडौं) कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा ज्यान जानेको संख्या छ हजार नाघेको छ । चीन, इटली, स्पेनपछिको कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप छ सय बढी संक्रमितको ज्यान गएपछि कुल मृतकको संख्या छ हजारमाथि पुगेको हो ।
अमेरिकाका उच्च स्वास्थ्य अधिकारी डा. एन्थोनी फौसीले मृतकको संख्या छ हजार नाघेसँगै त्यहाँका सबै राज्यबाट घरभित्रै रहने आदेश जारी हुने विश्वास व्यक्त गरेका छन् । अमेरिकामा कोरोना संक्रमणदर उच्च बने पनि त्यहाँका राज्यहरूले अलग-अलग नियम बसालेका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफ्नो नागरिकलाई मास्क र स्कार्फ लगाउन अपिल गरेको छ । संक्रमण दर उच्च बनेसँगै अमेरिकाले सतर्कता अपनाउन आफ्ना नागरिकहरूलाई अपिल गरेको हो ।
यद्यपि, यो नियम बाध्यकारी भने छैन । बीबीसीका अनुसार, राष्ट्रपति ट्रम्पले मास्क र स्कार्फ अनिवार्य नभएको बताएका छन् ।