रौतहटका कोरोना संक्रमित युवकको परिवारमा सबै सदस्यको र्यापिड टेस्ट नेगेटिभ
रौतहटका कोरोना संक्रमित १९ वर्षीय युवकको परिवारका सदस्यको र्यापिड टेस्ट नतिजा नेगेटिभ आएको छ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार ती युवकको परिवारका १४ जना सदस्यको नतिजा नेगेटिभ आएको हो। 'भर्खरै सबै जनाको नतिजा नेगेटिभ आयो भन्ने खबर पाइयो,' उनले सेतोपाटीसँग भने।
चैत १६ गते भारतको दिल्लीबाट घर आएका युवकमा सोमबार कोरोना पुष्टि भएपछि आजै परिवारका सदस्यको पनि र्यापिड टेस्ट गरिएको थियो। संक्रमित युवकलाई वीरगन्जस्थित नारायणी अस्पताल भर्ना गरिएको छ। अस्पतालमा यसअघि नै तीन जना कोरोना संक्रमित बिरामी छन्।
ईशनाथ नगरपालिका-५ घर भएका युवक दिल्लीमा मजदुरी गर्दै आएका थिए। लकडाउनपछि उनी सीमापारिबाट हिँड्दै घर आएको नगरपालिकाका प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले जानकारी दिए।