चितवनमा पनि एक जनामा देखियो कोरोनाको एन्टिबडी
चितवनमा पनि एक जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा कोरोनाको एन्टिबडी देखिएको छ।
फागुन ३० गते दक्षिण कोरियाबाट आएका उनको पिठुवास्थित गुञ्जमान सिंह अस्पतालमा र्यापिड टेस्टमा पोजेटिभ भेटिएको अस्पतालका प्रशासन प्रमुख मोहन खड्काले जानकारी दिए।
‘हामीले विदेशबाट आएका हिजो १८ र आज ३९ जनाको परीक्षण गर्यौं। उहाँको रिपोर्ट मात्र पोजेटिभ आयो,’ उनले सेतोपाटीसँग भने।
थप परीक्षाको लागि उनको स्वाब भरतपुर पठाइएको खड्काले जानकारी दिए। कुनै व्यक्तिलाई कोरोना संक्रमण भएपछि त्यसविरूद्ध लड्न शरीरले एन्टिबडी उत्पादन गर्छ।
एन्टिबडीले कोरोनाभाइरसलाई नष्ट गरिसकेपछि पनि शरीरमा एन्टिबडी कायमै रहन्छ।
त्यसैले कहिलेकाहीँ डाइग्नोस्टिक टेस्टले परीक्षणमा एन्टिबडी देखाए पनि कोरोनाभाइरस भने नष्ट भइसकेको हुन सक्छ। शरीरमा एन्टिबडी पनि छ तर कोरोनाभाइरस पनि नष्ट भइसकेको छैन भने त्यो अवस्थामा पिसिआरबाट पनि जाँच गर्दा पोजेटिभ देखिन सक्छ।