विज्ञ: कोरोनाबाट त्रसित होइन, सतर्क बनौं
(काठमाडौं) एकजना पूर्वटेलिभिजनकर्मीले ट्विटरमा हावादारी कुरा लेखे, ‘कोरोना लागेपछि बाँच्नेभन्दा मर्नेको संख्या धेरै छ । कोरोना लागेपछि बाँच्ने सम्भावना कम नै देखिन्छ ।’
कोरोनाबारे कतिपयले सामाजिक सञ्जालमा आउने यस्तै सन्देश पढेर मानिसहरुले धारणा बनाएको देखिन्छ । कोरोना लाग्ने र मृत्यु हुनेको संख्या तुलना गरेर हेर्दा भने माथिको ट्विट कति अफवाहपूर्ण र झूटो छ भन्ने बुझ्न गाह्रो पर्दैन ।
सरकारले पर्याप्त जनचेतना फैलाउन नसक्दा तथ्यपरक भन्दा पनि आधारहीन हल्लाले नागरिकलाई त्रसित बनाएको जानकारहरू बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी तत्कालै सूचना प्रवाहको जमाना भएकाले एउटा पनि तथ्यहीन सूचना फैलिन नपाओस् भन्नेमा सजग हुनुपर्ने बताउँछन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना केस देखिएका मध्ये प्रत्येक १०० मध्ये दुई जनाको मृत्यु हुने गरेको छ । कोरोनाको संकेत देखिएका मध्ये ९८ प्रतिशतले स्वास्थ्य लाभ गरेका वा गर्ने क्रममा छन् ।
मंगलबार साँझसम्मको आँकडा हेर्दा ९२ हजार २७५ मा नोभल कोरोना (कोभिड–१९) भाइरस केस फेला परेको छ । उनीहरूमध्ये ३ हजार १३० जनाको मात्र ज्यान गएको हो । मृत्यु हुनेको तुलनामा स्वास्थ्यलाभ गर्नेको संख्या ज्यादै ठूलो छ । त्यतिमात्रै होइन कोरोना देखिएका मध्ये आधाभन्दा बढीले त स्वास्थ्य लाभ नै गरिसकेका छन् । पछिल्लो आँकडा अनुसार ४८ हजार ४५० जनाले स्वास्थ्य लाभ गरिसकेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना केस देखिएका मध्ये प्रत्येक १०० मध्ये दुई जनाको मृत्यु हुने गरेको छ । कोरोनाको संकेत देखिएका मध्ये ९८ प्रतिशतले स्वास्थ्य लाभ गरेका वा गर्ने क्रममा छन् ।
मृत्यु भएका संक्रमितमध्ये सबैभन्दा बढी अर्थात ८० वर्ष भन्दामाथि उमेरका छन् । ७०–७९ वर्षका ८ प्रतिशत छ । ४९ वर्ष भन्दा कम उमेर समूहमा मृत्यु दर एक प्रतिशतभन्दा पनि कम छ । ०–९ वर्ष उमेर समूहमा यो दर शुन्य प्रतिशत छ ।
त्रसित होइन, सतर्क हुने बेला
विश्व स्वास्थ्य संगठनले गत ३० जनवरीमै नोभल कोरोना भाइरसलाई लिएर ‘अन्तराष्ट्रिय चासोको जनस्वास्थ्य संकट’ घोषणा गरिसकेको छ । यसअघि सन् २००९ मा स्वाइन फ्लु (एचवानएनवान), २०१४ मा पोलियो र २०१४ मै इबोला, २०१६ मा जिका भाइरस र २०१८ मा किभु इबोलाका कारण स्वास्थ्य संकटकाल घोषणा गरिएको थियो ।
इबोला र सार्सको मृत्युदर कोरोनाको भन्दा बढी थियो भने स्वाइन फ्लुको कम थियो । त्यतिबेला संक्रमितमध्ये इबोलाबाट ३४ प्रतिशत, सार्सबाट ९.६ प्रतिशत र स्वाइन फ्लुबाट ०.०२ प्रतिशतको ज्यान गएको थियो । मंगलबार साँझसम्म कोभिड–१९ को संकेत ७७ वटा देशमा देखा परेको छ । त्यसमध्ये २३ वटा देशमा एक÷एक जनामा यसको संक्रमण देखा परेको हो ।
जनस्वाथ्य वैज्ञानिक डा. समीरमणि दीक्षित कतिपयले तथ्यगत भन्दा आधारहीन हल्ला गरेर त्रसित पार्ने काम गरेको बताउँछन् । ‘कुल संक्रमित भन्दा पनि कोरोना पुगेको देशको संख्या गनेर आत्तिएको देखिन्छ’ डा. दीक्षित भन्छन्, ‘कसैकसैले कोरोना लागेपछि मरिहाल्छ भनेजस्तो गरी हल्ला गरेको छन्, जुन सत्य होइन ।’
आत्तिनुपर्ने कारण नभए पनि सतर्क भने हुनैपर्ने डा. दीक्षितको सुझाव छ ।