नेपालका पहिलो कोरोना संक्रमित: 'घरमै उपचार गराएर स्वास्थ भएँ '
(काठमाडौँ) नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन् । अरू बिरामी अस्पतालबाट स्वस्थ भएर घर फर्किन्छन्, उनी भने घरमै स्वस्थ भएर अस्पताल फर्किएका समाचार छ ।
स्वास्थ्य मन्त्रालयले बिरामीको परिचय गोप्य राख्ने चाहना प्रकट गर्दै उनी अहिले आफ्नो काममा फर्किसकेको समेत जानकारी दिएपछि बिरामीलाई नै भेटेर कुरा गर्दा उनले भने, ‘हो, परीक्षणमा मलाई पोजेटिभ देखाइएको थियो, तर अस्पतालमा मैले राम्रो उपचार पाइनँ । आफ्नै पहलमा उपचार गरें, अहिले परीक्षण गर्दा कोरोना भाइरस नभएको रिपोर्ट आएको छ ।’ उनका अनुसार चीनबाट काठमाडौं हुँदै नेपालगन्जसम्मको यात्रा पूरा गरी घर पुग्दा ज्वरो आयो। तत्काल नेपालगन्जबाट पुनः उनी काठमाडौं फर्के र सरकारको एक मात्र सरुवा रोग अस्पताल टेकु पुगे ।
समान्य बिरामीसरह दुई घण्टा लाइन बसेर ल्याब परीक्षण गराए। ‘ल्याब परीक्षणको रिपोर्ट आउन दुई दिनदेखि तीन दिन लाग्ने भएकाले उनलाई टेकु अस्पतालको विशेष कक्षमै भर्ना गरियो।
अस्पताल पुग्दा कोरोना भाइरस भएको रिपोर्ट आएछ, म आत्तिएँ।
‘माघ २३ गते अस्पतालबाट डिस्चार्ज भएर घरमै बसी आफ्नो स्वास्थ्यको ख्याल आफैं गरें,’ उनले बताए। एक सातापछि उनी फेरि परीक्षणका लागि अस्पताल पुगे। उनले भने, ‘मेरो र्यालको पुनः परीक्षण गरियो। रिपोर्ट नेगेटिभ आयो । अस्पतालले अझै क्वारेन्टाइनमा बस्नुपर्छ भनेको थियो। तर मैले मानिनँ।’
कोरोना भाइरसको सुरुकै अवस्थामा पहिचान भई उपचार गरे घरमै पनि निको पार्न सकिने उनको अनुभव छ। उनले घरमा विशेषतः तातो सुप, तातोपानी, जाउलोजस्ता खानेकुरालाई नियममितता दिए। त्यसैका कारण आफू निको भएको उनको भनाइ छ। ‘पानीलाई नै औषधि मानेर बाँचे,’ उनी भन्छन्।