चीन र दक्षिण कोरियाबाट आएका चारै जना नेपालीमा कोरोना देखिएन
चीन र दक्षिण कोरियाबाट आएका चार जना नेपालीमा कोरोना भाइरसको परीक्षण नतिजा नेगेटिभ आएको छ।
मंगलबार आएको नतिजामा सबैजना कोरोनामुक्त रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिए।
चार जनामध्ये एकजना चीनबाट र बाँकी तीनजना दक्षिण कोरियाबाट नेपाल आएका थिए। चार जनालाई नै ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि आइसोलेसनमा राखिएको थियो।
चीनबाट आएकालाई गत शनिबार र बाँकीलाई आइतबार आइसोलेसनमा भर्ना गरिएको थियो।
‘कोरोनामुक्त भएपछि सबैलाई आजै डिस्चार्ज गरिएको छ’, बाँस्तोलाले भने। कोरोना परीक्षणको लागि चार जनाकै घाँटी र नाकको र्यालको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।
नेपालमा अहिलेसम्म १ जनामा मात्र कोरोनाभाइरसको संक्रमण देखा परेको छ।