सरकारी कम्पनीले इन्डक्सन बेच्दैछ , ग्यास नपाएपछि उपभोक्ताको चासो
(काठमाडौं) पछिल्ला दिनमा आम नागरिकमा विद्युतीय चुल्होको प्रयोगप्रति आकर्षण बढेको छ। सरकारले बुधबार मात्रै विद्युतीय चुल्हो प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय गरिसकेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान र नेशनल ट्रेडिङ गाभिएर बनेको कम्पनी)ले पछिल्लो दिनमा मात्रै ३ हजार बढी विद्युतीय चुल्हो बिक्री गरेको छ।
विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नागरिकमा पनि खाना पकाउने ग्यास नपाउने भन्ने सन्त्रास बढेका कारण विद्युतीय चुल्होमा आकर्षित भएका हुन्। कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालका अनुसार कोरोनाको सन्त्रास फैलिएपछि कम्पनीका विभिन्न बिक्री केन्द्रमार्फत विद्युतीय चुल्हो बिक्री भएको हो। गोरखा भूकम्पको समयमा चीनले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएको विद्युतीय चुल्होप्रति आमनागरिकले चासो राखेका थिएनन्। पछिल्ला दिनमा कोरोनाको त्रास बढेपछि खाना पकाउने वैकल्पिक उपायका रुपमा विद्युतीय चुल्हो खरिद गर्नेको सङ्ख्यामा वृद्धि भएको हो।
कम्पनीलाई सरकारले कूल सात हजार ३४० थान विद्युतीय चुल्हो उपलब्ध गराएको थियो। त्यसमध्ये झण्डै ५० प्रतिशत चुल्हो बिक्री भएको खनालको भनाइ छ। पछिल्लो पटक सरकारले साताव्यापी लकडाउन घोषणा गरेको अवस्थामा पनि सरकारको निर्देशन प्राप्त भए मोबाइल भ्यानमार्फत पनि चुल्हो बिक्री गर्न सकिने उनको भनाइ थियो।
लकडाउनपछि आमसर्वसाधारण चुल्हो खरिद गर्न नआएपछि सरकारी कर्मचारी तथा सरकारले पास उपलब्ध गराएकाहरु कम्पनीको बिक्री केन्द्रमा पुगेर चुल्हो खरिद गरिरहेका छन्। ‘लकडाउनभन्दा पहिलेको जस्तो चुल्होको चासो राख्ने त कम छन्, तर पास भएकाहरु भने अहिले पनि खरिद गर्न आइरहेका छन्’, नायब महाप्रबन्धक खनालले भने।
नेपाल आयल निगमले सहज रुपमा खाना पकाउने एलपी ग्यास उपलब्ध गराउने बताइरहेको भए पनि नागरिकले विद्युतीय चुल्होमा नै चासो राखेको र कोही कसैले चुल्हो खरिद गर्न चाहे सुरक्षात्मक उपाय अवलम्बन गरेर भए पनि बिक्री गर्न सकिने खनालको भनाइ छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पनि विद्युतीय चुल्हो बिक्रीका लागि सरकारले सहजीकरण गरिरहेको जानकारी दिएका छन्। उनले विद्युत् महसुलसमेत छुट भएको अवस्थामा नागरिकले एलपी ग्यासको विकल्पमा उक्त चुल्हो नै प्रयोग गर्न सक्ने बताए।
यस्तै सरकारले विद्युतीय चुल्हो ल्याउने व्यापारीलाई भन्सार छुटसमेत दिने निर्णय गरेको छ। त्यसबाट विद्युत् खपत बढाउन र आत्मनिर्भरतातर्फ अगाडि बढाउनसमेत मद्दत पुग्नेछ। नेपाल विद्युत् प्राधिकरकणले हाल विद्युत् खपत घटेको, उद्योग तथा कलकारखानासमेत बन्द भएको अवस्थालाई मध्यनजर गरेर विद्युतीय चुल्हो प्रयोग गर्न सक्ने बताएको छ।
४ हजारमा इन्डक्सनसँगै दुई वटा हाईटेक कराई पनि दिइन्छ । यी इन्डक्सन चुलो कम्पनीको केन्द्रीय कार्यालय, थापाथली, सिहंदबारको मूलगेट, भद्रकाली, नख्खु, सूर्यविनायकको विकी कक्षहरुबाट किन्न सकिनेछ ।