कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना भएका ५ जनाको रिपोर्ट ‘नेगेटिभ’
( बुटवल) कोरोना भाइरस संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसन वार्डमा भर्ना गरिएकामध्ये पाँच जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
फागुन २९ गतेदेखि चैत ९ गतेसम्म उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएका ९ जनालाई आइसोलेसन वार्डमा भर्ना गरेर उपचार गरिएको थियो । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनीहरुको स्वाब परीक्षण गर्दा पाचँ जनाको ‘नेगेटिभ’ रिपोर्ट आएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल रेकर्ड सहायक चन्द्रकान्त महतोका अनुसार पवित्रा पाण्डे, धु्रव तरामु, शेरबहादुर नेपाली, राजकुमार गुप्ता र गंगे नेपालीको रिर्पोट ‘नेगेटिभ’ आएको हो । बाँकी चार जनाको रिपोर्ट आउन बाँकी रहेको महतोले बताए ।
कोभिड १९ को संक्रमण नभएको पुष्टि भएका पाँचैजना डिस्चार्ज भएर घर फर्किसकेको उनले जानकारी दिए ।