कोसी अस्पतालमा ६ शैयाको आइसोलेसन वार्ड तयार
(विराटनगर) कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंका गरिएका बिरामीलाई विषेश निगरानीमा राखेर उपचार गराउन विराटनगरस्थित कोसी अस्पतालमा ६ शैयाको आइसोलेसन वार्ड तयार गरिएको छ ।
प्रदेश सरकारको सहयोगमा कोसी अस्पतालमा ६ शैयाको आइसोलेसन वार्ड तयार गरिएको अस्पतालका डा डेनप्रसाद आर्चायले बताए । तीनवटा कोठामा दुई/दुई वटा वेड गरी १२ जनासम्म बिरामी राखेर उपचार गर्न मिल्ने गरी आइसोलेसन वार्ड तयार गरिएको उनले बताए । जसकालागि छुटै १० जनाको चिकित्सको टिम उपचारमा खटिने उनले बताए ।
‘कोरोना संक्रमणको आशंकामा भर्ना भएका बिरामीलाई उपचार गर्ने गरी आइसोलेसन वार्ड तयार पारिएको छ,’ डा आर्चायले भने, ‘अवश्यक जनशक्ति र उपकरणको पनि व्यवस्था मिलाएका छौं ।’
प्रदेश १ सरकारले दुई साताअघि कोरोनाका शंकास्पद बिरामीलाई ‘आइसोलेसन वार्ड’ मा राखेर उपचार गर्न कोसीसहितका चार वटा अस्पतालमा आइसोलेसन वेड तयार गर्ने घोषणा गरेको थियो । जसमा कोसीसहित नोवेल शिक्षण अस्पताल, विराट मेडिकल कलेज र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी २८ शैयाको आइसोलेसन वार्ड तयार गर्ने घोषणा गरेको थियो ।