मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन जाँदै
(काठमाडौं) कोरोना संक्रमितको उपचारमा प्रयोग हुने मेडिकल उपकरणहरु लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चीनको ग्वाङझाओ जाने भएको छ ।
ए ३३० वाइडबडी जहाज शनिबार दिउँसो साढे १२ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गर्ने छ ।
कार्गो उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान अनुमति दिइसकेको नेपाल एयरलाइन्सका अपरेशन बिभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए । चीनबाट नेपाल एयरलाइन्सले मेडिकल सामग्रीहरु ल्याउने छ ।
यसअघि चीनमा कोरोना संक्रमण फैलिँदै गएपछि वुहान शहरमा बसोबास गर्ने नेपालीहरुलाई पनि नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट उद्धार गरेर स्वदेश ल्याइएको थियो ।