पुनर्निर्माणमा कोरोना भाइरसको असर कम
(काठमाडौं) कोरोना भाइरस संक्रमणको जोखिमका कारण देशका धेरै आयोजना प्रभावित भएका बेला पुनर्निर्माणका काममा भने धेरै प्रभाव परेको छैन ।
रानीपोखरी, धरहरा पुनर्निर्माणमा ठुलो संख्यामा कामदार भेला भई काम गरिरहेका छन् । निजी आवास पुनर्निर्माण पनि रोकिएको छैन ।
सरकारले पछिल्लो समय २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने निर्णय गरेपछि भने धरहरा, रानीपोखरीगायतका ठूला सम्पदा पुनर्निर्माण प्रभावित हुने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले सरकारको पछिल्लो निर्णयका विषयमा छलफल गर्ने बताए ।
‘हामी नेपाल सरकारले दिएको निर्देशनअनुसार कामदारको सुरक्षालाई ध्यानमा राखेर निर्णय गर्छौ’ उनले भने ।
घिमिरेका अनुसार हालसम्म कोरोना भाइरस त्रासको असर पुनर्निर्माणको क्षेत्रमा महसुस गरिएको छैन र पुनर्निर्माणमा चाहिने कच्चापदार्थको अभाव पनि छैन । कोरोना त्रासको असर पुनर्निर्माणको क्षेत्रमा नपरेको प्राधिकरण र पुरातत्व विभागले बताएको छ । पुरातत्व विभागका साइट इन्जिनियर पूर्णबहादुर श्रेष्ठले सम्पदा पुननिर्माणमा धेरैजसो नेपाली कामदार नै रहेकाले प्रभाव नपरेको बताए ।
‘अहिलेसम्म प्रभाव नपर्नुको कारण कामदारहरु नेपाली नै छन् । केही सामान चीनबाट आयात गर्नुपर्ने हो, अरु काठहरु कामदार, यहीँ (नेपाल) को भएकाले समस्या छैन ।’
कोरोना भाइरसको संक्रमण नेपालमै देखिएमा पअसर पर्न सक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ ।