विमानस्थलमा पूर्व-राजारानीको काेराेना जाँच, आजबाट सबै हवाईयात्रुको तापक्रम जाँज्न सुरु
(काठामाडौँ) सम्भावित कोरोना भाइरस चेकजाँच गर्ने क्रममा पूर्व-राजारानी ज्ञानेन्द्र शाह र कोमल शाहलाई विमानस्थलमा शरीरकाे तापमान जाँच गरिएको छ । भारत भ्रमणबाट फर्किनुभएका पूर्व-राजारानीको त्रिभुवन विमानस्थलमा आइतबार तापमान लिइएको हो ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक एवं बाह्य सबै हवाईयात्रुमाथि कोरोना जाँच र निगरानी सुरू गरिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले सबै यात्रुमाथि चेकजाँच र निगरानी गर्न निर्देशन दिएसँगै सबै यात्रुकाे शरीरकाे तापक्रम जाँच्न सुरू गरिएकाे हाे ।
यसै क्रममा पूर्व-राजारानीको पनि तापक्रम चेकजाँच गरिएको हो । चेकजाँचमा उहाँ दुवैको शरीरको तापक्रम सामान्य रहेको रेकर्ड भएको छ ।
विमानस्थलका एक कर्मचारीले उहाँको शरीरको तापमान लिँदाको भिडियो खिचेका छन्, जसमा विमानस्थलमा कोरोना परीक्षण गर्न बसेका एक कर्मचारीले सुरुमा ‘सरकार, टेम्परेचर !’ भनेको सुनिन्छ । पूर्वराजा ज्ञानेन्द्रले पनि मुसुक्क हाँस्दै जाँच गर्न मञ्जुरी दिएसँगै शरीरको तापमान जाँचेको देखिन्छ ।