सैनिक अस्पतालमा कोरोना परीक्षण ल्याब, बारुदखानामा पनि क्वारेन्टाइन
वीरेन्द्र सैनिक अस्पतालमा कोरोनाको परीक्षण गर्ने ल्याब पनि सेनाले बनाउने भएको छ।
सोही अस्पतालमा कोरोनाबाट संक्रमित बिरामीको उपचारको निर्देशिका (स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर्स) तयार पार्ने काम भइरहेको छ।
त्यस्तै, उपचारका लागि आवश्यक औषधिहरुको व्यवस्था पनि सेनाले गरिरहेको श्रोतले जनाएको छ।
वीरेन्द्र अस्पतालको पुरानो एचआईभी सेन्टरमा १० बेडको आइसोलेसन वार्ड तयार पारिसकिएको छ। पोखरा, नेपालगन्ज र इटहरीमा पनि आइसोलेसन वार्ड तयारी अवस्थामा छन्। फिल्ड एम्बुलेन्समा समेत गरेर सेनासँग ५२ बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा छ।
वीरेन्द्र अस्पतालको बाहिरपट्टि रहेको सैनिक कल्याणकारी कोषको एक तले भवनलाई पनि प्रयोगमा ल्याइने भएको छ।
त्यस्तै, क्वारेन्टाइन स्थापना गर्नका लागि विभिन्न तालिम केन्द्र, सैनिक महाविद्यालय र मेडिकल कलेजहरु छनौट गरिएको छ। आवश्यकता अनुसार खाली ठाउँमा मोवाइल फिल्ड अस्पताल राखेर पनि संक्रमितको उपचार गर्न सकिनेगरी तयारी भइरहेको सैनिक स्रोतले जानकारी दियो। त्यसका लागि सेनाले खुल्ला ठाउँ समेत हेरेर सरकारलाई सिफारिस गरेको छ।
स्वयम्भुको बारुदखानास्थित ट्रान्जिट क्याम्पमा भएको भवनलाई क्वारेन्टाइन सेन्टरका रुपमा छुट्याउन पनि कार्यदलले सिफारिस गरेको छ। खुला ठाउँमा क्वारेन्टाइन बनाउन सेनाले टेन्टको प्रयोग गर्ने भएको छ। सेनाको स्टोरमा भूकम्पको बेला चीनले दिएका लाखौँ टेन्ट छन्।
त्यसपछि पनि चीनले सेनालाई राहत तथा उद्धारका लागि टेन्ट उपलब्ध गराएकाले तत्कालका लागि अभाव नहुने सैनिक प्रवक्ता पाण्डेले बताए।