विदेशीले अब ‘अन-अराइभल’ भिसा नपाउने, भिसाका लागि स्वास्थ्य प्रमाणपत्र अनिवार्य
(काठमाडाैँ) सरकारले कोरोना भाइरसको जोखिम हेरेर नेपाल आउनेहरूलाई ‘अन-अराइभल’ भिसा दिने व्यवस्था स्थगित गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले यही फागुन २४ गतेबाट ‘अन–अराइभल’ भिसा स्थगित गर्ने निर्णय गरेकाे छ ।
कोरोना भाइरसको संक्रमण देखिएका देशहरूबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्नेछ र भिसाका लागि निवेदन दिँदा स्वास्थ्य प्रमाण-पत्रसमेत ल्याउनुपर्ने छ । विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपालले पनि उच्च सतर्कता अपनाउन लागेको हो ।
यसै क्रममा सरकारले बढी संक्रमण भएका देशमा आफ्ना नागरिकलाई नजान आह्वान गर्ने भएको छ । साथै ठूलो भेला, भाेजभतेरका कार्यक्रम नगर्न र बाहिरबाट पनि त्यस्ता कार्यक्रम आउन लागेको भए सरकारले तत्काल नआउन आह्वान गर्ने भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुटारमा छलफल डाकेका थिए । उक्त छलफलले कोरोना भाइरस रोकथामको पूर्वतयारीका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ ।