घोराहीमा फोहरबाट उर्जा उत्पादन हुँदै, २ हजार घनमिटर ग्यास उत्पादन हुने
(दाङ) घोराही उपमहानरपालिकाले जिल्ला मै पहिलो पटक फोहोरबाट ग्यास उत्पादन गर्न लागेको छ । घोराही १६ स्थित २ बिगाह १२ कठ्ठा जमिनमा ग्यास उत्पादन गर्न लागेको हो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रालि र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यबाट फोहोर मार्फत ग्यास उत्पादन गर्न थालिएको हो । गत बर्षको मंसिर ५ गतेदेखि नेपाल उर्जा बिकास कम्पनीसँग उपमहानगरको सम्झौता भएको भएता पनि भदौ महिनादेखि निर्माण शुरु भएको हो । हालसम्म ८० प्रतिशत निर्माण पुरा भएको नेपाल उर्जा विकास कम्पनी प्रालिका म्यानेजर हरिशरण श्रेष्ठले बताउनुभयो ।
फाण्डेशनको काम भैसकेकाले अब माथिल्लो भागको निर्माण चाँडै हुनेछ । संरचना निर्माणको काममा कुनै समस्या नभए अबको ३ देखि ४ महिनाभित्र सबै संरचना निर्माण भइसक्ने र संचालन आउने अपेक्षा गरीएको उहाँले बताउनुभयो ।
दैनिक जम्मा भएको फोहोरबाट ग्यास निकाल्नको लागि १९ करोड ८५ लाखको लागतमा लाग्ने छ । विश्व बैंक तथा वैकल्पिक ऊर्जा पवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिने छ भने ६० प्रतिशत कम्पनी आाफैले लगानी गरेको छ । दैनिक २ हजार घनमिटर ग्यास उत्पादन हुने उक्त बायो ग्याँसले दैनिक ७० देखि ८० वटा ग्यास सिलिण्डरसम्म उत्पादन गर्ने लक्ष्य लिएकोे मित्सन बायोग्याँस सलुसन इन्डिया तथा उक्त प्लान्टका इन्जिनियर गुरमिट सिंहले बताउनुभयो ।
कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता भएको उहाँले बताउनुभयो । घोराही उपमहानगरले अहिले फोहोरलाई २ किसीमले बर्गीकरण गरेको जनाएको छ ।
एउटा गाडीले गल्ने फोहोर र अर्कोले नगल्ने फोहोर संकलन गर्ने उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले बताउनुभयो । संरचना निर्माणपछि फोहरबाट ग्याँस उत्पादनका लागि अन्य प्राविधिक काम सुरु हुने र घोराही उपमहानगरपालिकाको ल्याण्डफिल्ड साइडमा गल्ने फोहोरबाट ग्यास उत्पादनका लागि काम गर्ने गरी प्रालिसँग सम्झौता गरेको घोराही उपमहानगरपालिकाका प्रवक्ताअर्यालले बताउनुभयो ।
सम्झौताअनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधारहरू घोराही उपमहानगरपालिकालाई प्रालिले हस्तान्तरण गर्ने भएको छ । २० वर्षसम्म उत्पादनको ५ प्रतिशत रकम उपमहानगरपालिकालाई प्रालिले दिने भएको छ ।
ग्याससंगै कम्पोष्ट मलसमेत उत्पादन गरिने भएपछि फोहोर व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ । फोहोरबाट ग्यास तथा कम्पोष्ट मल उत्पादन हुने भएपछि उपमहानगरपालिकालाई फोहरबाट मोहोर पनि हुने छ ।