देशभरका विद्यालय र हाेटललाई क्वारेन्टाइन बनाउन सकिने
(काठमाडाैँ) सरकारले होम क्वारेन्टाइनको कार्यान्वयनमा कडाइ गर्ने भएको छ ।
शनिबार बसेको काेराेना राेकथामका लागि उच्चस्तरीय समन्वय समितिको बैठकले होम तथा सेल्फ आइसोलेसनमा बस्नुपर्ने व्यक्तिहरु समेत नबसेको पाइएपछि कडाइ गर्ने निर्णय गरेको हो । बैठकमा क्वारेन्टाइन तथा आइसोलेसनमा बस्नु पर्नेहरु नबसेको, बिरामीहरू चेकजाँचमा नगएकाे पाइएपछि सुरक्षाका साथ शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने निर्णय गरेकाे छ ।
सरकारले चैत १ बाट कोरोना संक्रमण फैलिएका मुलुकहरुबाट आउनेलाई सेल्फ वा होम क्वारेन्टाइन अनिवार्य गरेको थियो । चैत १ देखि ६ गतेसम्म मात्र ११ हजार बढी मानिस नेपाल आएका छन् । उनीरुलाई अनिवार्य होम वा सेल्फ क्वारेन्टाइनमा बस्न सरकारले निर्देशन दिएको छ ।सरकारसँग पनि उनीहरू क्वारेन्टाइनमा बसे/नबसेको रेकर्ड छैन ।
बैठकले सुरक्षा निकाय समेत रहेको कार्यदल बनाउँदै देशभर आवश्यकता अनुसार क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । बैठकले व्यक्तिको घर, विद्यालय र होटलहरु क्वारेन्टाइन बनाउन दिने प्रस्तावलाई पनि स्वीकार गरेको छ ।
बैठकले स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने स्वास्थ्यमन्त्रीका संयोजकत्वमा समिति गठन भएको छ भने देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्र मन्त्रालयमार्फत काम अघि बढाउने निर्णय पनि गरेको छ ।