पर्वतारोहणमा पनि कोरोना डर, आरोहीले १४ दिने यात्रा विवरण बुझाउनुपर्ने
(काठमाडौं) सरकारले बसन्त ऋतुमा हुने पर्वतारोहणमा पनि कडाइ गर्ने भएको छ । विश्वभर फैलिएको कारोना भाइरसको संक्रमण रोक्न प्रयासरत सरकारले पर्वतारोहण गतिविधि सञ्चालनमा पनि नयाँ नियम लागू गरेको हो ।
पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार अब कुनै पनि आरोहीले पर्वतारोहण अनुमति लिनु अगाडिका १४ दिनको यात्रा विवरण पेश गर्नुपर्छ ।
अहिले विश्वभर कोरोनाको संक्रमण फैलिएको छ र विश्व स्वास्थ्य संगठनका अनुसार कुनै पनि व्यक्तिमा कारोना भाइरस संक्रमण भएको २ देखि १४ दिनमा देखिन सक्छ । आरोहीहरु कोरोना प्रभावित मुलुक भएर आए नआएको थाहा भए सतर्कता अपनाउन सकिने भएकाले १४ दिने यात्रा विवरण मागिएको हो ।
आरोही र पर्वतारोही दलका सम्पूर्ण सदस्यको स्वास्थ्य रिपोर्ट पनि आरोहण व्यवस्थापन गर्ने सम्बन्धित ट्राभल एजेन्सीले अनलाइनमार्फत विभागमा बुझाउँछ । त्यसलाई विभागले स्वीकृत गरेपछि आरोहण अनुमति लिनुपूर्व व्यक्ति स्वयमः उपस्थित हुनुपर्नेछ ।
विभागका अनुसार अनलाइन ब्रिफिङ नभरेमा वा अस्वीकृत भएमा हिमाल चढ्न पाउँदैनन् ।