सबैजसो ठूला विकासे आयोजनामा कोरोनाको प्रभाव देखिन थाल्यो
(काठमाडौं) बुटवल–अत्तरिया ४ सय केभी प्रसारणलाइन अध्ययनको लागि इटालियन कम्पनीले जिम्मा पाएको छ । तर, इटाली ‘लक डाउन’ भएपछि त्यहाँबाट कम्पनीका प्रतिनिधि नेपाल आउन पाएका छैनन् । यसले गर्दा आयोजनाको अध्ययनको काम पुरै नरोकिए पनि प्रभावित भएको छ ।
आयोजनाका प्रमुख अभिशेष अधिकारीका अनुसार अहिले इटालियन परमर्शदाता कम्पनीसँग स्काइपमा भिडियो वार्ता गर्दै कामहरु भइरहेका छन् । कागजमै हुनुपर्ने कामहरु इमेलमार्फत आदान–प्रदान गरिँदैछ ।
‘अब चिनियाँ मात्रै हैन, अरु देशका ठेकेदार र परमार्शदाताले जिम्मा लिएका परियोजनामा समस्या हुने देखियो,’ अधिकारी भन्छन्,‘ काम नरोकियोस् भनेर अनेकन प्रयत्न गरिएको छ, तर जसरी काम हुनुपर्ने हो, त्यसमा असर परिरहेको छ । ’कोरोना भाइरसको संक्रमणले हालसम्म नेपालमा चिनियाँ ठेकेदार कम्पनीहरुले काम गरिरहेका आयोजनाहरु मात्रै प्रभावित थिए । अब भने भारतीय अन्य देशका कम्पनीले जिम्मा लिएका आयोजनाहरु पनि प्रभावित बन्न थालेका छन् । विदेशी परामर्शदाताले नियुक्त भएका केही महत्वपूर्ण आयोजनाहरु पनि अब कोरोनाबाट प्रभावित बन्ने अवस्थामा आएको छ ।
अझ सरकारले २५ जनाभन्दा बढी भेला नहुने गरेको निर्देशनले आयोजनामा काम गर्नेहरुलाई सशंकित पनि बनाएको छ । अहिले पनि आयोजनामा कामदारहरु संक्रमण्को शितकार हुने त्रासकै बीचमा काम गरिरहेका छन् ।