कोरोना कहर : नेपालमा ४५० जनाको स्वास्थ्य परीक्षण
(काठमाडौं) स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म चार सय ५० जनामा कोरोना भाइरस (कोभिड–१९’को परीक्षण गरिएको जनाएको छ ।
विहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अहिलेसम्म चार सय ५० जनामा कोभिड–१९ को परीक्षण गरिएको जानकारी गराइएको हो । जसमध्ये एक जनामा मात्रै कोरोना पोजेटिभ देखिएको र उपचारपछि अहिले उक्त बिरामी पूर्ण ठीक भइसकेको बताइएको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वको एक सय २० देशमा पुगिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत डिसेम्बरबाट चीनको वुहानबाट फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपालमा आवश्यक स्वास्थ्य परीक्षणलगायतका कामहरु भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनुभयो ।
त्यस्तै, उहाँले कोरोनाकै आशंकामा अहिले टेकु अस्पतालको आइसोलेसन वार्डमा चार जना विरामीहरुले उपचार गराइरहेका जानकारी गराउनुभयो ।
यस्तै, पाटन अस्पतालको आइसोलेशन वार्डमा पनि एक जना उपचाररत रहेको बताइएको छ । अहिलेसम्म कोरोना भाइरसकै कारण चार हजार ६ सय जनाले ज्यान गुमाइसकेका छन् ।