दैनिक ७० हजार बढी मास्क उत्पादन गर्ने मेसिन भारतबाट ल्याइने
बानेश्वरका ईश्वर कार्कीलाई २ दिनअघि सामान्य रुघाखोकी लाग्यो। विश्वभर कोरोना संक्रमण फैलिरकेको बेलामा उनी पनि सचेत नहुने कुरै भएन। उनले बानेश्वर, डिल्लीबजार, पुतलीसडक लगायतका धेरै मेडिकल स्टोरमा मास्क खोजे तर पाएनन्।
‘दुई दिनसम्म त मैले कतै पनि मास्क पाइनँ तर आज एउटा किराना पसलमा पेपर मास्कलाई २० रुपैयाँ हालेर किनेँ’ उनले सेतोपाटीसँग भने।
सामान्यतया यो पेपर मास्कको मेडिकलमा ५ रुपैयाँ र सामान्य पसल तथा फुटपाथमा १० रुपैयाँ पर्थ्यो।
‘किन महँगो भनेर सोध्दा, अरूले ४० रुपैयाँमा बेचेका छन् मैले सस्तोमा दिएको भन्यो,’ कार्कीले भने। विगत करिव २ हप्ता अघिदेखि मास्कको अत्याधिक माग आएको गोपीकृष्णस्थित गेट फार्मेसीका फर्मासिस्ट मनोज पन्तले जानकारी दिए।
‘पहिले– पहिले पिसको हिसावले दैनिक करिव १/२ सय बिक्री हुन्थ्यो। पछिल्लो समय बक्स (थोक) नै किन्ने धेरै आउँछन। दिनको ८ सय पिससम्म बिक्री भयो,’ उनले भने ‘विदेशमा आफन्त भएकाले समेत याहाँबाट किनेर पठाउने रहेछन्।’ पहिले–पहिले फार्मेसीहरुलाई मास्क उपलब्ध गराउने सर्जिकल हाउस र डिस्ट्रिव्यूटरहरूले हिजोआज मास्क नल्याउने गरेको चितवन, भरतपुरस्थित एसियन फार्मेसीका विकास मिश्रले जानकारी दिए।
‘मास्क खोज्ने मान्छे त धेरै आउँछन्। सर्जिकल हाउस र डिस्ट्रिव्यूटरहरूले छैन भन्छन्। नेपालमा यसको फ्याक्ट्री छ कि भनेर खोज्दा पनि भेटिएन,’ मिश्रले भने।
ब्यापारीहरूका अनुसार चीनमा कोरोनाको संक्रमण बढेसँगै नेपालमा मास्कको ब्यापार बढेको हो। चीनमा समेत मास्क अभाव हुँदा नेपाली ब्यापारीले चीनबाट ल्याएका मास्क पनि चीनतिर नै पठाएका कारण अहिले अभाव भएको हुनसक्ने एक फर्मासिस्टले बताए।
अभाव हटाउन भन्दै नेपाल सरकारले मास्क नियमित रूपमा आपूर्ति गर्नका लागि आयात तथा उत्पादन वृद्धि गर्ने निर्णय गरिसकेको छ।
मास्क उत्पादनको जिम्मा पाएको नेपाल चेम्बरअफ कमर्सले उद्योगी दिपक मल्होत्राको नेतृत्वमा एक उपसमिति समेत गठन गरेको छ। मास्क उत्पादनका लागि भारतबाट मेसिन तथा आवश्यक कच्चा पदार्थ ल्याउने तयारी भइरहेको मल्होत्राले जानकारी दिए।
५० लाख मूल्य पर्ने उक्त मेसिनले हप्तामा ५ लाख पिस अर्थात दैनिक ७० हजार बढी मास्क उत्पादन गर्न सक्ने उनले जानकारी दिए। यी मास्कलाई उपभोक्ताले ४ देखि ५ रुपैयाँमा पाउन सक्ने मल्होत्राले बताए।