चीनमा रहेका विद्यार्थी छिट्टै नेपाल ल्याइँदै
(काठमाडौं) चीनमा रहेर नेपाल आउन चाहेका एक सय ७० विद्यार्थीलाई नेपाल ल्याउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनीहरू हाल कोरोना भाइरसको उच्च प्रकोप भइरहेको त्यहाँको उहान राज्यमा रहँदै आएका छन्। चीनस्थित नेपाली विद्यार्थी तथा उनीहरूका अविभावकको चिन्ता र मागलाई सम्बोधन गर्दै छिट्टै नेपाल ल्याउन तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ।
शनिबार प्रधानमन्त्री केपी ओली शर्माको उपस्थितिमा बसेको बैठकले विद्यार्थीको अवस्थाबारे तत्काल जानकारी लिएर उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। चीनबाट ल्याएपछि राखिने स्थानको तयारी हुन बित्तिकै विद्यार्थीलाई नेपाल ल्याइने उनले बताए।
चीनमा रहेका नेपालीका लागि यहाँका विभिन्न स्थानमा एकल ठाउँहरू प्रस्ताव भएको र टुंगीना बाँकी रहेको छ। उनीहरूलाई नेपाल ल्याउनुअघि चीनस्थित विमानास्थल र नेपालस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा स्वास्थ्य परिक्षण गरिनेछ। संक्रमित यात्रु फेला परेमा छुट्टयाइएका अस्पतालको एकल वार्डमा राखिनेछ। अन्य यात्रुलाई दुई हप्ता निगरानीमा राखी परिक्षण गरेपछि मात्र घर जान मिल्नेछ।
हालसम्म उहानमा रहेका एक सय ७० जना विद्यार्थीले मात्र नेपाल आउने फारम भरेको मन्त्रालयले जनाएको छ। चीनवाट उद्धार भएपछि राख्नको लागि बैठकमा कीर्तिपुर आयुर्वेद अस्पताल, सैनीक तालिम केन्द्र भक्तपुर, प्रहरी तालिम केन्द्र, स्टाफ कलेज जाउलाखेल, विद्युत् तालिम केन्द्रलगायत स्थान छनेटको तयारी छ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६ जना शंकास्पद बिरामीको नोवेल कोरोना भाइरस संक्रमणको परिक्षण भएको र एक जनामा मात्र पोजिटिभ पाइएको छ। अहिले एक शकांस्पद बिरामीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ। नेपालमा अझै नफैलिसकेको तर चीन बाहिरका अन्य देशमा फैलिरहेको अवस्थामा यहाँ पनि यसको जोखिमलाई ध्यान दिँदै प्रकोप फैलिन नदिन सरकारले प्रयास गरिरहेको प्रवक्ता श्रेष्ठले बताए। व्यवस्थापनमा भएका कमजोरी पत्ता लगाउँदै सुधार गर्ने काम भइरहेको उनको भनाइ छ।
नोवेल कोरोना भाइरस संक्रमणको कारण हालसम्म चीनमा दुई सय ५९ जनाको मृत्यु भएको छ, भने ११ हजार ९ ५३ जनामा संक्रमण भएको छ। चीन बाहिर २३ वटा देशमा एक सय ३२ जनामा भाइरस संक्रमण भइकेको छ।