स्वास्थ्य मन्त्रालयमा बैठक
(काठमाडौँ) सरकारले चीनबाट उद्धार गरेर ल्याउने नागरिकलाई राख्ने ठाउँ (क्वारेन्टाइन)को टुंगो आज लगाउने भएको छ ।
सम्भावित २५ स्थानको अवलोकन गरेसँगै आज अपराह्न बस्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकले क्वारेन्टाइनको टुंगो लगाउने भएको हो । यसअघि, मन्त्रालयको समन्वयमा सेना र प्रहरीका चिकित्सकसमेतको पाँच सदस्यीय टोलीले सोमबार सम्भावित २५ स्थानको अवलोकन गरेको थियो ।
यता, सरकारले चीनबाट फर्किनेहरूलाई एउटा कोठामा तीनजनाका दरले राख्ने प्रबन्धको तयारी गरेको छ । उनीहरूका लागि बेड, लुगाजस्ता विभिन्न ३७ थरी सामग्री आवश्यक पर्ने चिकित्सकको भनाइ छ । मन्त्रालयले स्थान टुंगो लगाएसँगै आजै प्रधानमन्त्री कार्यालयमा ब्रिफिङ गरेसँगै चीनबाट नागरिक स्वदेश फर्काइने छ ।
क्वारेन्टाइनसहितको प्रबन्ध सुनिश्चित भएपछि सरकारले उडानसहितको सम्पूर्ण विवरण चीनलाई पठाउनेछ । बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालका अनुसार नेपाल वायु सेवा निगमको वाइडबडी विमान उद्धारका लागि तयारी अवस्थामा राखिएको छ ।