माथिल्लो अरुणमा २४ किलोमिटर पहुँचमार्गका लागि टेन्डर गरिँदै
(काठमाडौं) सरकारले संखुवासभामा बन्ने १०६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणस्थललाई पहुँचमार्गमार्फत जोड्न काम थालेको छ । सर्वेक्षण अनुमतिपत्र पाएपछि नेपाल विद्युत प्राधिकरणले आयोजनास्थलसम्म जाने सडक बनाउन लागेको हो ।
२४ किलोमिटर सडकका लागि टेन्डर गर्न अन्तिम तयारी भइरहेको प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार आयोजनास्थलसम्म पुग्न २ किलोमिटर सुरुङमार्ग पनि खन्नुपर्ने हुन्छ । आयोजनाले सुरुङ र एउटा पुलसहितको २२ किलोमिटर पहुँच सडक बनाउनुपर्छ ।
‘अहिले विस्तृत परियोजना प्रतिवेदन निर्माणको लागि पनि काम गर्दैछौं,’ घिसिङले भने, ‘त्यहाँ धेरै ड्रिलिङको कामहरु चलिरहेका छन् । सडक पुर्याएपछि आयोजना निर्माणको लागि सहज हुन्छ ।’
सरकारले गत कात्तिकमा आयोजनाको लाइसेन्स नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडलाई दिएको थियो । यो लाइसेन्सको अवधि दुई वर्षको हुन्छ । विश्व बैकको सहुलियतपूर्ण ऋणमा आयोजनाको अहिले विस्तृत अध्ययन भइरहेको छ ।