तीन नगरपालिका विपन्नका लागि एकीकृत वस्ती बनाउँदै कञ्चनपुरका
(कञ्चनपुर) कञ्चनपुरका तीन स्थानीय तहले आवासविहीन विपन्न परिवारका लागि नमुना एकीकृत वस्ती निर्माणको प्रकृयाअघि बढाएका छन्। वेदकोट, भीमदत्त र महाकाली नगरपालिकाले एकीकृत वस्ती निर्माणको प्रकृया अगाडी बढाएका हुन्। विपन्न, भूमिहीन र दलित समुदायलाई लक्षित गरी राष्ट्रिय मुक्त हलिया समाज र हेविटाट नेपाल नामक गैरसरकारी संस्थाको साझेदारीमा वस्ती निर्माण कार्य अघि बढाइएको हो। ती संस्थाहरुले प्राविधिक सहयोगसहित प्रतिघर निर्माणका लागि एक लाख रुपैयाँ सहयोग जानकारी दिइएको छ। वेदकोट नगरपालिकामा विपन्न परिवारका लागि ४८ वटा घर निर्माण हुने भएको छ। जसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ।
आवास निर्माणका लागि तराई मधेश समृद्धि कार्यक्रमको ५० लाख, सांसद नरबहादुर धामीको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत ४५ लाख रुपैयाँ रकम खर्च गरिने साझेदारी संस्था राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुका अध्यक्ष शिवी लुहारले जानकारी दिए। उनकाअनुसार आवास निर्माणको कुल लागतको १० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने छ। यसैगरी भीमदत्त नगरपालिकमा ७० वटा घर निर्माण हुने भएको छ। जसका लागि प्रदेश सरकारको ३० लाख, सांसद डा. दीपकप्रकास भट्टको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगतको ५० लाख र नगरपालिकाले २० लाख रुपोयाँ लगानी गर्ने सम्झौता भएको छ। महाकाली नगरपालिकामा सांसद भट्टको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगतको ५०लाख, तराई मधेश समृद्धि कार्यक्रमको २५ लाख र नगरपालिकाको ५९ लाख रुपैयाँ लागतमा आवास निर्माण हुने समाजका अध्यक्ष लुहारले जानकारी दिए। आवास निर्माणमा प्रदेश सरकारको पनि सहयोग हुने बताइएको छ।
तीनवटै स्थानीय तहमा एकीकृत बस्ती निर्माणका लागि सम्झौतासँगै डिपिआर तयार भएको अध्यक्ष लुहारले बताए। उनले भने, ‘चालु आर्थिक वर्षमा विपन्न परिवारका १०० घर निर्माण गर्ने लक्ष्य लिएका छौं।’ घर भूकम्प प्रतिरोधी हुनुका साथै प्रत्येक घरमा सौचालय समेत निर्माण गरिने छ। आवास निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउने छ।