चीनबाट फर्कनेहरूका लागि ५० बेडसम्मको आइसोलेसन वार्ड, सेनालाई जिम्मेवारी
(काठमाडाैँ) सरकारले चीनको हुबेई प्रान्तका ६ सहरमा रहेका नेपालीलाई स्वदेश ल्याइएपछि अलग्गै (क्वारेन्टाइन) राख्न सुरक्षित स्थानको खोजी थालेको छ ।
स्वदेश फर्काइएका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ खोजिरहेका हुन् ।
यता, सेनालाई ५० बेडसम्मको आइसोलेसन वार्ड बनाउन जिम्मा दिने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा सबै सुरक्षा निकायका चिकित्सकहरूको टोलीले वैकल्पिक स्थानको अवलोकन गरेको थियो । सुरक्षा निकायका तालिम केन्द्र तथा अस्पतालमा एक सय ८० जना राख्ने क्षमता नभएपछि बेग्लै थप आइसोलेसन वार्ड बनाउने जिम्मा सेनालाई दिन लागिएको हो । स्वास्थ्य मन्त्रालयको समन्वयमा भएको बैठकमा सेनालाई यसको विस्तृत योजना सोमबार पेस गर्न भनिएको छ ।
यता, सरकारी निकायले चीनबाट फर्काइने नेपालीलाई बेग्लाबेग्लै समूह बनाएर सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनी, शिवपुरीस्थित कमान्ड एन्ड स्टाफ कलेज, पाँचखालस्थित तालिम केन्द्र, सशस्त्र प्रहरीको मातातीर्थ वा ककनीस्थित तालिम केन्द्र, इचंगुनारायणस्थित सुकुमबासीका लागि बनाइएका दुई सरकारी भवनमा राख्न सकिने विकल्पबारे छलफल गरिरहेका छन् ।
छाउनीस्थित सैनिक अस्पताल र पाँचखालस्थित तालिम केन्द्रमा पनि सेनासँग आइसोलेसन वार्ड छ ।