१५ महिनामा सक्नुपर्ने पुलको एक वर्षमा ३० प्रतिशत काम
(पोखरा) पोखरा महानगरपालिका ठूला खेत र कार्कीकोट जोड्ने गरी खहरे खोलामा गण्डकी प्रदेश सरकारले ‘बक्स’ पुल बनाइरहेको छ ।
९० मिटर लामो उक्त पुल प्रदेश सरकारले ६ करोड ७५ हजारमा बनाउन निलगिरि नेसनल जेभीलाई जिम्मा दिएको छ । प्रदेश सरकारले निलगिरिसँग गत वर्ष फागुनमा १५ महिनाभित्र सक्ने गरी सम्झौता गरेको थियो । जसको समयावधि आउँदो जेठमा सकिँदैछ । तर, समयमै काम सकिनेमा स्थानीयले आशंका व्यक्त गरेका छन् । सम्झौता सकिन जम्मा ३ महिना बाँकी हुँदा काम भने ३० प्रतिशतमात्रै पूरा भएको छ । समयमै काम नसकिने भएपछि स्थानीयलाई आउँदो वर्षातमा पनि जोखिम मोलेरै पोखरा आउजाउ गर्नुपर्ने हो कि भन्ने भयले सताएको छ । पुलको तल्लो ढलानको काममात्रै सकिएको छ ।
‘बर्खामा यहाँका विद्यार्थी स्कुल जानै पाउँदैनन् । यतिका समय लगाएर पुल बल्ल पुल बन्न लागेको छ । तर, यो वर्ष पनि पूरा होला जस्तो छैन ।’
हाल स्थानीयलाई आउजाउ गर्न त्यहाँ अस्थायी फलामे पुल बनाइएको छ । तर, बर्षातमा खोला बढेर पुलमाथि पनि पानी आउने एक स्थानीयले बताए । ‘बर्खामा यहाँका विद्यार्थी स्कुल जानै पाउँदैनन् । यतिका समय लगाएर पुल बल्ल पुल बन्न लागेको छ । तर, यो वर्ष पनि पूरा होला जस्तो छैन,’ पोखरा महानगरपालिका- २३ का चुडामणि अधिकारीले गुनासो पोखे ।
पुल निर्माण भइरहेकै समयमा गत बर्खामा आएको बाढीले निर्माणाधीन पुल बगाएको थियो । पुल बगाएपछि ठेकेदार कम्पनी निलगिरि नेसनल जेभी बीचैमा काम छोडेर भागेको गण्डकी प्रदेश सांसद राजीव पहारीले सुनाए ।
‘काम गर्दागर्दै ठेकेदार कम्पनी भाग्यो । ठेकेदार खोज्न नै हामीलाई ४ महिना लाग्यो,’ सांसद पहारीले भने, ‘काम खुरुखुरु गरेको भए यतिबेला योजना अन्तिम चरणमा पुगिसक्थ्यो ।’