सीमापार रेलको डीपीआर बनाउन चिनियाँ टोलीको प्रतिक्षा
(काठमाडौं) नेपाल र चीनबीच हिमालय सीमापार रेल्वे लाइन निर्माणको विस्तृत सम्भाव्यता अध्ययनसहित परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि चिनियाँ टोली छिट्टै नेपाल आउने भएको छ । रेल विभागका अनुसार चिनियाँ नयाँ वर्षपछि चिनियाँ प्राविधिक टोली नेपाल आउने अपेक्षा गरिएको छ ।
नेपाल र चीनबीच काठमाडौं-केरुङ, काठमाडौं पोखरा र पोखरा-लुम्बिनी रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी भइसकेको छ । चीनले आफ्नै खर्चमा तीनै रेलमार्गको सम्भाब्यता अध्ययन सुरु गर्दैछ । रेलमार्गको वातावरणीय अध्ययन भने नेपाली पक्षले गर्ने योजना छ ।
गत मंसिर १० मा भएको डीपीआर निर्माणसम्बन्धी समझदारीपछि चिनियाँ पक्षले अनौपचारिक रुपमा चिनियाँ नयाँ वर्ष मनाएपछि प्राविधिक टोली नेपाल पठाउने जानकारी दिएको थियो ।
रेल विभागमा महानिर्देशक बलराम मिश्राले अहिलेसम्म कहिलेबाट चिनियाँ टोली आएर काम सुरु गर्छ भन्ने अपौचारिक जानकारी आएको छैन । ‘हामीलाई अपेक्षा छ कि चिनियाँ नयाँ वर्षपछि नै टोली नेपाल आएर काम थाल्छ,’ उनले भने, ‘यसमा आवश्यक सहजीकरण विभागले गर्छ, हामी चिनियाँ टोलीलाई पर्खिरहेका छौं ।’