रुखमा समुदायको दावीपछि नारायणगढ–बुटवल सडक विस्तार अवरुद्ध
(चितवन) नारायणगढ–बुटवल सडक विस्तारका लागि थालिएको रुख काट्ने काम स्थानीय समुदायको अवरोधका रोकिएको छ । सडक विस्तार आयोजनाका अनुसार सामुदायिक वन उपभोक्ता समूहले सडक छेउमा काटिएका रुखहरु आफूले पाउनुपर्ने दाबी गरेको छ ।
सडक विस्तारका लागि यो खण्डमा ४६ हजार २९४ रुख काट्नुपर्ने जानकारी आयोजनाका सूचना अधिकारी शिव खनालले अनलाइनखबरलाई दिए । उनका अनुसार, वन डिजिभन कार्यालय नवलपुरले गत पुस ८ गते कटानको पूर्जी दिएपछि धमाधम रुख काट्न थालिएको थियो ।
कावासोती नगरपालिका–२ को शिव सामुदायिक वन उपभोक्ता समितिले काटिएका रुख सरकारको नभई आफ्नो हुने भन्दै काममा अवरोध गरेको खनालले बताए । नजिकै महाराजा सामुदायिक वन क्षेत्रको रुख काटेर शिव सामुदायिक बनमा प्रवेश गरेपछि बिरोध भएको उनले बताए ।
‘आफूहरुले गोठालो लागेर जोगाएको रुख कसैले लैजान नपाउने उहाँहरुको भनाइ छ’, सूचना अधिकारी खनालले भने, ‘वन डिभिजनले काठ राख्न तोकिदिएको चार स्थानमा काटिएका रुख लैजान खोज्दा हामीलाई रोकियो ।’
उता डिभिजन वन कार्यालय नवलपुरले सरकारी सडक छेउको रुख समुदायलाई दिन नसकिने जनाएको छ । सडक विभागले स्थानीय प्रशासनको सहयोगमा काम सुरु गर्नसक्ने बन कार्यालयको भनाइ छ ।
नारायणगढ–बुटवल सडक आयोजनाको दोस्रो खण्ड (भुमही–सुनवल) मा भने ‘साइट क्लियरेन्स’को सामान्य काम मात्र भइरहेको छ । त्यस खण्डका सूचना अधिकारी युवराज पाण्डेले गुणस्तर मापन ल्याब, क्रसर तथा प्याचिङ प्लान्ट स्थापना गरिसकिएको बताए ।