विराटनगरमा इन्धन आयात ठप्प
(विराटनगर) पूर्वी सीमावर्ती क्षेत्र मीरगञ्ज पुल मर्मतका लागि भन्दै सवारी आवागमन रोकेको भारतीय पक्षले अति आवश्यक इन्धन आयातमा वैकल्पिक सडक प्रयोग गर्न नदिएपछि अमलेखगञ्जबाट इन्धन लैजान लिएको छ ।
पुस २४ गतेदेखि पुलमा आवागमन बन्द गरेको भारतले इन्धन आयातका लागि रि–रुट गर्न नदिएपछि मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट भित्रिएको इन्धन प्रदेश १ मा ल्याएर वितरण गर्न थालिएको हो ।
पुल मर्मतका लागि पुस २४ गतेदेखि माघ ६ गतेसम्म आवागनम बन्द गर्ने निर्णय गरेको भारतीय पक्षले तेस्रो देशबाट भित्रिएका सवारीका लागि मात्र रि–रुट गर्ने अनुमति दिएको छ । भारतबाट कच्चा तथा तयारी पदार्थ लिएर आएका सवारी साधनहरुले माघ ६ पछि मात्रै अनुमति पाउने छन् ।
तेस्रो मुलुकबाट भित्रिएका सामाग्रीलाई भने वीरपुर-भाण्टाबारी नाकाबाट स्कर्टिङ गरी विराटनगरसम्म ल्याएर जाँचपास गरी गन्तब्यमा पठाइने भन्सार कार्यालय विराटनगरका प्रमुख शिवप्रसाद भण्डारीले बताए ।
विराटनगर नाका हुँदै भित्रने इन्धनका लागि रि–रुट नदिएपछि नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरले अमलेखगञ्ज डिपोबाट दैनिक इन्धन आयात गरिरहेको छ । आयल निगम प्रादेशिक कार्यालय विराटनगरका सूचना अधिकारी दिवश बिष्टका अनुसार मोतिहारी अमलेखगञ्ज पाइपलाइनबाट भित्रिएको इन्धन प्रदेश १ मा वितरण गर्न थालिएको हो । उनका अनुसार दैनिक ३०–३५ वटा ट्याङकरमा इन्धन आयात गरिरहेको छ । पुल बन्द हुन अघि अखलेखगञ्जबाट न्यून मात्रामा डिजेल ल्याउने गरिएको थियो । तर पुस २४ गते यता दैनिक ३५ ट्याङकरसम्म इन्धन आयात गरिरहेको विष्टले बताए ।
प्रादेशिक डिपोबाट प्रदेश १ र २ का १४ जिल्लामा इन्धन आपूर्ती गरिदै आएको छ । १४ जिल्लामा दैनिक आठलाख लिटरसम्म डिजले र तीनलाख लिटर पेट्रोलको माग छ ।