काडमाडौँका भित्री गल्लीमा आगो निभाउन जडान गरिएको पाइप लाइनको सफल परीक्षण
(काठमाडौँ) काठमाडौँ महानगरपालिकाले दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागीबाट हुने क्षति नियन्त्रणका लागि जडान गरिएको पाइप लाइनको सफल परीक्षण गरिएको छ । कामपाले आज वडा नं २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ्याइएको चार इञ्चे फलामे पाइपबाट सफल परीक्षण गरेको हो ।
उक्त प्रणाली नेपाल रेडक्रस सोसाइटीको उत्थानशील नगर प्रवद्र्धन तथा सहभागिता कार्यक्रमको रु पाँच लाख वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिबाट रु दुई लाख सङ्घसंस्था र उपभोक्ताको रु दुई लाख ४० हजार ६१२ गरी कूल रु नौ लाख ४० हजार ६१२ लगानीमा मांसगल्ली उपभोक्ता समितिले पाइप जडान गरेको हो ।
परीक्षणको शुरुआत कामपाका प्रमुख विद्या शुन्दर शाक्यले गरे । परीक्षणपछि प्रमुख शाक्यले विपद् क्षति न्यूनीकरण र विपद् व्यवस्थापन महानगरको उच्च प्राथमिक काम रहेको बताए । शाक्यले भने, “हामीले दमकललाई नयाँसडकबाट विस्तार गरेर वडा ६ सम्म पु¥याएका छौँ ।” अब केही दमकल खरिद गर्दैछौँ भने बिरामीको बाटामा हुने मृत्युलाई घटाउन नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेर आधुनिक एम्बुलेन्स सञ्चालन गरेको पनि उनले स्पष्ट पारे ।
कामपाको उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले महानगर विपद्का समयमा आवश्यकपर्ने सामग्री तथा उपकरणलाई वडास्तरमा भण्डारण गर्ने योजनामा रहेको बताइन्।