अर्थमन्त्री : निर्माण सामग्री नदीले मात्र पुर्याउन सक्दैन, पहाडै फोर्नुपर्छ
(काठमाडौं) अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला आयोजना कार्यान्वयनमा ठूलो समस्याको रुपमा रहेको नदिजन्य सामग्रीको अभाव पूरा गर्न अब पहाड नै फोर्नुपर्ने बताएका छन् । वातावरणमा असर नपर्ने गरी अब पहाड उत्खननबाटै यस्ता सामग्रीको आपूर्ति गर्नुपर्ने उनले बताए ।
बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा विकास निर्माणका काम गर्ने मन्त्रालयहरुले आयोजना कार्यान्वयनमा नदीजन्य सामग्री ठूलो समस्या रहेको बताएका थिए । जबाफमा मन्त्री खतिवडाले अब नदीले मात्र निर्माण सामग्रीको आपूर्ति पूरा गर्न नसक्ने बताए । ‘हामीले एकै पटक यति धेरै निर्माणका काम गर्दैछौं कि, त्यसको आपूर्ति गर्न अब पहाडै फोर्नुपर्छ’ उनले भने ।
ठूला विमानस्थल, रणनीतिक राजमार्ग, रेल्वे परियोजनाका धेरै काम अगाडि बढ्ने क्रममा रहेको भन्दै मन्त्री खतिवडाले अब निर्माण सामग्री आपूर्तिका लागि पहाड फोर्ने कुरामा संसदबाट पनि सहयोग चाहिने बताए ।
आयोजनालाई प्राथमिकीकरण गर्न नसक्दा बजेट खर्च कमजोर रहेको उनले स्वीकार गरे । सरकार अर्थतन्त्रको संरचनामै परिवर्तन गर्ने क्रममा रहेका कारण त्यसको साइड इफेक्ट अर्थतन्त्रमा देखियको उनको भनाइ छ । खासगरी निर्यात वृद्धि गर्दै आयातमुखी अर्थतन्त्रबाट नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढ्ने क्रममा रहेका कारण अहिले केही समस्या देखिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
आर्थिक वर्षको पहिलो ५ महिना सकिँदा ९ प्रतिशत मात्र पुँजीगत खर्च रहेको सन्दर्भमा समितिले बिहीवार बिकासे मन्त्रालयसँग छलफल गरेको हो ।