गौतम : मलाई राष्ट्रियसभामा लैजाने प्रधानमन्त्रीकै प्रस्ताव हो
(काठमाडौं) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रियसभामा जान प्रस्ताव गरेको बताएका छन् । तर आफूले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्नुपर्ने बताएको उनले सुनाए ।
राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘एकदिन प्रधानमन्त्रीले ‘तपाईंलाई मैले तुरुन्तै संसदमा लैजान्छु’ भनेर भन्नुभएको हो । मैले कहाँ लैजानुहुन्छ भनेर सोधेँ । उहाँले ‘राष्ट्रिय सभामा लैजान्छु’ भन्नुभयो ।’
‘मैले उहाँलाई भने राष्ट्रियसभामा त्यसबेला जान्छु, जब नेपालको संविधान संशोधन गरेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउँछन्’, उनले अघि भने, ‘म प्रधानमन्त्री हुनुपर्छ, तपाईं होइन वा प्रचण्ड हुनुहुन्न भनेको होइन । तर म जहाँ रहेपछि कार्यकारीसहितको शक्तिशाली संस्थामा रहन चाहन्छु ।’
उसो भए तपाईलाई प्रधानमन्त्री बन्ने हतारो छ भन्ने प्रश्नमा गौतमले सहजै स्वीकार गरे । ‘वामदेव प्रधानमन्त्री बन्न हुन्न ? मैले खोजेकै हो । म प्रधानमन्त्री बन्नुपर्छ भन्ने कुरा त गएकै निर्वाचमना भनिएको हो । २०७० को निर्वाचनमा प्यूठान र बर्दियामा भावी प्रधानमन्त्री भनेर लगिएको हो, मलाई’ उनले भने, ‘विसं २०७४ को निर्वाचनमा अध्यक्ष केपी ओली र प्रचण्ड तथा सबैले भनेको कुरा के हो भने तपाईंका समकक्षी हामी प्रधानमन्त्री भइसक्यौं । अब पहिलो पटक प्रधानमन्त्री हुने तपाईं नै हो, तपाईं नै लाग्नुस् ।’